आयोजनाको अवसरले उत्साहित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल 

दाङको घोराहीमा शुक्रवार र शनिवार दुई दिने घोराही नगर अन्तर स्कुल हाप्किडो च्याम्पियनसिपको आयोजना हुँदै छ । गोर्खा स्कुल हाप्किडो डोजाङको आयोजनामा हुने यस प्रतियोगितामा ३४ स्कुल हाप्किडो डोजाङको सहभागिता रहने छ । प्रतियोगिता नेपाल हाप्किडो सङ्घ र दाङ जिल्ला खेलकुद विकास समितिको स्वीकृतिमा हुन लागेको हो । 

आयोजक कमिटीका संयोजक तथा गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका प्रिन्सिपल मान सिंह घर्ती मगर दाङ जिल्ला नै हाप्किडो खेलको एउटा नयाँ हब भएको बताउँछन् । 

सबै कुरा सहज भएको तथा गोर्खा स्कुल हाप्किडो डोजाङ प्रमुख विशाल थापा नै सक्रिय भएका कारण प्रतियोगिता आयोजना कठिन नभएको प्रिन्सिपल मान सिंह बताउँछन् । विद्यार्थीहरूको यस खेलमा बढी चासो भएको र पछिल्लो समय दाङमा हाप्किडो प्रतिको आकर्षण बढेका कारण यसमा आफू पनि लागि परेको प्रिन्सिपल मानसिंह बताउँछन् । हाल गोर्खा स्कुल हाप्किडो डोजाङमा ४० खेलाडी प्रशिक्षणरत छन् । यसै वर्ष सुर्खेतमा भएको राष्ट्रिय च्याम्पियनसिपमा यसै स्कुल डोजाङका खेलाडीले २ स्वर्ण पदक जितेका थिए । 

हाप्किडो प्रतियोगिता आयोजना गरी रहँदा यस खेलमा आबद्ध सबै जना सक्रिय भएर लागी परेको प्रशिक्षक मानसिंह बताउँछन् । यसले आफूलाई थप प्रेरणा दिएको उनी बताउँछन् । 

त्यसो त स्कुलमा कराते , तेक्वान्दो, फुटबल, बास्केटबल, भलिबल, कबड्डी र क्रिकेटका प्रशिक्षण हुने गरेका छन् । साथमा एथलेटिक्सको पनि प्रशिक्षण हुने गरेको छ । पुराना स्थापित खेलको बिचमा हाप्किडो स्थापित हुन पक्कै चुनौती हो । परन्तु यस खेलमा आबद्ध टिमको सहकार्यमा गोर्खा स्कुल हाप्किडो नयाँ बाटोमा प्रवेश गरी रहेको छ । २०५५ सालमा स्थापित सो स्कुल शैक्षिक क्षेत्रमा पनि त्यत्तिकै पायनियर मानिएको छ । यस विद्यालय शैक्षिक वातावरण र अनुशासनमा पनि उत्कृष्ट छ । अतिरिक्त क्रियाकलापमा पनि स्कुल अग्रणी मानिन्छ । 

Comment