नगर स्तरीय च्याम्पियनसिपमा ‘गोर्खा डोजाङ च्याम्पियन
प्रथम घोराही नगर स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ को टिम च्याम्पियन आयोजक गोर्खा डोजाङ भएको छ । दुई दिनसम्म सञ्चालित प्रतियोगितामा गोर्खा डोेजाङले १७ गोल्डसहित प्रथम हुँदै प्रतियोगिताको च्याम्पियन भएको हो ।
यसै गरी, मेचीकाली स्कुलको मेचीकाली डोजाङ ६ गोल्डसहित द्वितीय भएको छ भने मावि डाँडागाउँ गोग्लीको गोग्ली डोजाङ ३ गोल्डसहित तृतीय भएको छ ।
यसै गरी, पुरुषतर्फ गोग्ली डोजाङका अनमोल रोका क्षेत्री वेस्ट प्लेयर, महिलातर्फ मेचीकाली डोजाङकी बबिता पुन मगर वेस्ट प्लेयर घोषित भए । उत्कृष्ट प्रशिक्षक पुरुषतर्फ गोर्खा डोजाङका शरद पौडेल, उत्कृष्ट प्रशिक्षक महिलातर्फ मेचीकाली डोजाङकी एलिसा खड्का घोषित भए ।
उत्कृष्ट डोजाङतर्फ गोर्खा डोजाङ भयो भने उत्कृष्ट रेफ्री महिलातर्फ सिर्जना तामाङ र उत्कृष्ट रेफ्री पुरुषतर्फ लक्ष्मण खाती भए । प्रतियोगितामा डेमोन्स्ट्रेसनतर्फ गोर्खा डोजाङ प्रथम, मेचीकाली डोजाङ द्वितीय र न्यु भिजन डोजाङ तृतीय भएको छ ।
हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्ने उद्देश्यले गोर्खा स्कुल हाप्किडो डोजाङको आयोजना तथा नेपाल हाप्किडो सङ्घको सहयोगमा शुक्रवारबाट भएको च्याम्पियनसिपमा नगरभित्रका ३४ विद्यालयबाट खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिता संयोजक तथा गोर्खा स्कुल हाप्किडो डोजाङ प्रमुख प्रशिक्षक विशाल थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरण गौतमको प्रमुख आतिथ्यमा शनिवार प्रतियोगिता समापनसँगै खेलाडीलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
घोराही उपमहानगरपालिका–१४ स्थित गोर्खा ईन्टरनेशल पब्लिक सेकेण्डरी स्कुलको खेल मैदानमा भएको प्रतियोगितामा फाइट तर्फ महिला र पुरुष दुवैमा समान १६–१६ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।