फ्रेन्चाइज लिगको लोगो सार्वजनिक
पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभिएल) को लोगो सार्वजनिक गरिएको छ । लिगको आयोजक केडिया ग्रुपले मंगलबार काठमाडौँमा एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन सार्वजनिक गरेका हुन् । ‘उचाइको नयाँ उडान’ स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने केडिया ग्रुपले जनाएको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिङ्गल राउन्ड रोबिनका आधारमा खेल हुने आयोजकले जनाएको छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष २ स्थानमा रहने टोलीबिच फाइनल खेल हुनेछ ।
कार्यक्रममा खेलकुद मन्त्री चौधरीले खेलकुदको माहौल हुँदा पनि पूर्वाधार नहुँदा खेलकुदको सोचे जस्तो विकास हुन नसकेको बताए । नेपाल ओलम्पिक कमिटीको निर्वाचनप्रति लक्षित गर्दै उनले अदालतको आदेशसमेत नमान्ने प्रवृत्ति खेल संस्थामा देखिएको भन्दै सबैले ऐन–नियम मान्नुपर्ने बताए । मन्त्री चौधरीले सरकारको निर्देशन र कानुन नमान्ने खेलकुद सङ्घहरूलाई कडा कारबाही गर्ने चेतावनी दिए । कार्यक्रममा श्रीलङ्कामा भएको काभा यु–२० पुरुष भलिबलको रजत विजेता नेपाली यु–२० राष्ट्रिय टोलीका सदस्यलाई नगदसहित सम्मान गरिएको थियो ।