सभापति कपमा सङ्कटा सेमिफाइनलमा
नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारदेखि सभापति कप फुटबल प्रतियोगिता सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको सभापति कप फुटबलको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन् । प्रतियोगिता अन्तर्गत बिहीबार भएको उद्घाटन खेलमा सङ्कटा क्लबले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । सङ्कटाले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सङ्कटाका लागि अबेका रिचर्डले २ गोल गर्दा चन्दन दासले एक गोल थपेका थिए ।
खेलको २१औँ मिनेटमा अबेकाले गोल गर्दै सङ्कटालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको सङ्कटाले दोस्रो हाफमा दुई गोल गरेको थियो । ७०औँ मिनेटमा अबेकाले व्यक्तिगत दोस्रो गोल गर्दै सङ्कटाको अग्रता दोब्बर पारे । त्यसको २ मिनेटपछि नै चन्दस दासले गोल गरेपछि सङ्कटाले ३–० को अग्रता बनायो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै सङ्कटाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । सङ्कटाले सेमिफाइनलमा मच्छिन्द्र र एपिएफ क्लबबिचको विजेतासँग खेल्ने छ । मच्छिन्द्र र एपिएफबीचको खेल शुक्रवार अपराह्न साढे ५ बजेदेखि सुरु हुने छ । तालिका सार्वजनिक गर्दा सेमिफाइनल र फाइनल खेल मात्रै फ्लड लाइटमा सञ्चालन गर्ने भनिए पनि आयोजकले समय तालिका परिमार्जन गर्दै अब शुक्रवारदेखि फाइनलसम्मका सबै खेल फ्लड लाइटमै सञ्चालन गर्ने जानकारी गराएका छन् । ८ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेताले नगद २६ लाख पुरस्कार पाउँदा उप विजेता हुनेले १३ लाख पाउने छ ।