पलेसा र नेगीको कोरियन मार्सल आर्ट्स एकेडेमीको सम्मान
२०२४ पेरिसमा भएको पारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्धन तथा प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । कोरियन मार्सल आर्ट्स एकेडेमीले गोवर्धनलाई २५,००० रुपैयाँ तथा प्रशिक्षक कविराज नेगी लामालाई नगद १०,००० रुपैयाँ सहित सम्मान गरिएको हो । एकेडेमीले नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र राखेप कार्यकारी सदस्य सुवर्ण श्रेष्ठलाई सफल कार्यकालका लागि शुभकामना समेत दिएको छ । सोही कार्यक्रममा एकेडेमीका खेलाडीलाई प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रमको आयोजना भएको हो ।
परिषद्का उपाध्यक्ष आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको विशेष अतिथि राखेप कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठ थिइन् । सो कार्यक्रममा नेपाल राष्ट्रिय मुवाथाई सङ्घ अध्यक्ष गणेश लाल कक्षपती, नेपाल तेक्वान्दो सङ्घको केन्द्रीय सदस्य मणिराज बिस्ट र तेक्वान्दो प्रशिक्षक मनोज खड्गी विशेष अतिथि थिए । ललितपुर जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष दिल महर्जन, तेक्वान्दो प्रशिक्षक सागर भक्त अमात्य , रञ्जन राजवंशी र नरेन्द्र महर्जन लगायतको उपस्थिति थियो । कार्यक्रम एकेडेमीका प्रमुख राजु श्रेष्ठको सभापतित्वमा भएको हो । कार्यक्रम एकेडेमीको हलमा भएको थियो ।
विशाल चोक ललितपुर –१४ मा अवस्थित कोरियन मार्सल आर्ट्स एकेडेमीमा तेक्वान्दो तर्फ १२० तथा मुवाथाइ तर्फ ३० जना प्रशिक्षण गरी रहेका छन् । एकेडेमीमा राजु श्रेष्ठले तेक्वान्दो तथा सन्तोष घलानले मुवाथाइ प्रशिक्षण दिइरहेका छन् ।