सलेशलाई बागमती यु–२० महिला सेभेन्स रग्बीको उपाधि

कोसी प्रदेशको सलेश यूथ क्लबले बुधवार बागमती यु–२० र्गल्स सेभेन्स नेसनल रग्बी च्याम्पियनसिपको पहिलो संस्करण जितेको छ । मध्यपुर यूथ एसोसिएसनको खेल मैदानमा सम्पन्न फाइनलमा सलेशले कर्णाली रग्बीलाई १०–० स्कोरले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै सलेशले ५० हजार रुपैयाँ प्राप्त गरेको थियो । कर्णालीले भने ३० हजार रुपैयाँमा चित्त बुझायो ।
खेलको पहिलो हाफमै सलेशले एक ट्राई मार्फत ५–० को अग्रता लिएको थियो । दोस्रो हाफमा पनि सलेशले समान स्कोर गर्दै एकपक्षीय जित निकाल्न सफल रह्यो । सलेशलाई च्याम्पियन बनाउन आरुषी भट्टराईले दुवैपल्ट ट्राई गर्दै १० अङ्क जोडेकी हुन् । एक ट्राई बराबर पाँच अङ्क र एक कन्भर्जनमा दुई अङ्क प्राप्त हुन्छ। ट्राई गरेपछि नै कन्भर्जन किक प्रहार गर्न पाइन्छ। तर, सलेशले दुवैपल्ट कन्भर्जन किकलाई कन्भर्ट गर्न सकेन ।
कर्णालीले पहिलो सेमिफाइनलमा नेपाल महिला रग्बी सङ्घलाई कन्भर्जन किकमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। निर्धारित समय र थप गरिएको समयमा पनि कुनै टोलीले अङ्क ल्याउन सकेनन्। त्यसैले विजेताको टुङ्गो कन्भर्जन किकबाट गरिएको हो । कन्भर्जन किकमा कर्णालीले सफल रह्यो। उसले दुई किकलाई कन्भर्ट गर्न सक्यो। नेपाल महिला रग्बी संघले भने कन्भर्जन किकलाई कन्भर्ट गर्न सकेन ।
अर्को सेमिफाइनलमा भने सलेशले बागमतीलाई १०–५ ले पराजित ग¥यो । पहिलो हाफमा दुवै टोलीले एक÷एक ट्राई गरेका थिए। दोस्रो हाफमा भने सलेशले एक ट्राई गरेको थियो । तर, प्राप्त कन्भर्जन किकलाई भने दुवै टोलीले कन्भर्ट गर्न सकेनन् ।
नेपाल महिला रग्बी क्लब र प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा कोसीको सलेशसहित सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेस र बागमती प्रदेशसहित नेपाल महिला रग्बी सङ्घ र हिमालयन टाइगर रग्बी क्लब गरी आठ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी सलेशका आरुषी भट्टराई घोषित भइन्। उत्कृष्ट प्रशिक्षक सलेशकै नवीन दर्लामी रहे ।
प्रतियोगताका विजेता टोलीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव दीपक लामा र उपविजेतालाई नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटाले पुरस्कृत गरे ।