सर्वाधिक पुरस्कार राशिको गोर्खाली रग्बी सेभेन्स हुँदै

Manoj Shiama
21 February, 2025 10:05 pm


गोर्खाली रग्बी क्लबको आयोजनामा यही फागुन १६ र १७ गते गोर्खाली रग्बी सेभेन्स पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ। भरतपुरको कृष्णपुर रङ्गशालामा हुने प्रतियोगितामा सात प्रदेश टोली, दुई विभागीय टोली नेपाली सेना र सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब तथा आयोजक गोर्खाली रग्बी गरी १० टोलीको सहभागिता रहने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो छ ।


प्रतियोगिताको विजेता टोलीले २ लाख र उपविजेताले १ लाख पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली रग्बीमा राखिएको अहिलेसम्मको सर्वाधिक ठुलो पुरस्कार राशि भएको आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले भर्दना काउचरको तर्फबाट एक सेट इटालियन सुट प्राप्त गर्नेछ ।
प्रतियोगिता आयोजनाको लागि कुल २१ लाख बजेट खर्च हुने अनुमान गरिएको छ । जसमा आयोजकले सहभागिता टोलीको एकतर्फी यातायात तथा होटेलको खर्च बेहोर्नेछ ।
राष्ट्रिय खेलकुद परिषद्, भरतपुर महानगरपालिका र बाग्मती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रतियोगितामा सहयोग गर्ने जनाइएको छ ।
त्यस बाहेक नपुग खर्च गोर्खाली क्लबका अध्यक्ष रोहित कार्की आफैले बेहोर्ने पत्रकार सम्मेलनमा प्रतिबद्धता जनाएका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले भने, “हाम्रो क्लबले विभिन्न उमेर समूहको प्रतियोगिताको विजेता बन्नुका साथै गत वर्ष फिप्टिन ए साइड रग्बीको राष्ट्रिय प्रतियोगिताको पनि च्याम्पियन बन्यौँ । अब हामी आयोजनामा सफल भएर रग्बी विकासमा योगदान दिन चाहन्छौँ ।”
प्रतियोगितामा हरेक टिमले ५ जना सम्म विदेशी खेलाडी राख्न पाउने नियम बनाइएको छ । क्लबका उपाध्यक्ष कृष्ण थापाले गोर्खाली रग्बीले मैदानमा सफलता हात पारेपछि अब प्रतियोगिता आयोजनामा केन्द्रित हुन लागेको पत्रकार सम्मेलनमा बताए । उनले आगामी संस्करणमा विदेशी क्लबलाई समेत सहभागी गराउने योजना रहेको बताए ।
प्रतियोगिताको मेडिकल पार्टनरमा चितवन मेडिकल कलेज, ट्राभल पार्टनरमा होलीडे ट्रिप नेपाल, क्लोथिङ पार्टनरमा थ्रेड गार्मेन्ट इमाडोल, हस्पिटालिटी पार्टनरमा अन्कुरम एकेडेमी, चितवन र इन्टरनेट पार्टनरमा ट्रेड माइन्ड नेटवर्क चितवन रहेको छ ।
यस्तै सहयोगी संस्थाहरूमा एलआइसी कर्पोरेसन(नेपाल), राइट पाथ करियर काउन्सलिङ्ग काठमाडौँ, एसिटी एजुकेसन एन्ड भिसा सर्भिसेज, चितवन, एभिन्यु एजुकेसन कन्सल्टेन्सिी काठमाडौँ, माइती रिसोर्ट कीर्तिपुर रहेको छ ।