गोर्खाली रग्बी सेभेन्स पुरुष राष्ट्रिय रग्बी सुरु

Manoj Shiama
28 February, 2025 11:18 am

चितवन । ‘स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ भरतपुर–७, कृष्णपुरस्थित खेलकुद मैदानमा शुक्रवारदेखि गोर्खाली रग्बी क्लबको आयोजना र नेपाल रग्बी सङ्घको प्राविधिक सहयोगमा २ दिने रग्बी प्रतियोगिता सुरु भएको छ । आतिथ्य साझेदार स्थानीय अङ्कुरम् एकेडेमीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराइएको हो ।

आयोजकका अनुसार २०७४ सालदेखि संघले आयोजना गरेको विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आए पनि यस पटक भने आफै प्रतियोगिता सञ्चालन गरेको क्लबका अध्यक्ष हरे राम कार्कीले जानकारी दिए ।

चितवनमा दोस्रो पटक आयोजना गरिएको यस प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख, दोस्रो हुनेलाई एक लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी र इटालियन सुट प्रदान गरिने रग्बी सङ्घ, चितवनका अध्यक्ष सुमन पौडेलले जानकारी दिए । 

प्रतियोगितामा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश तथा आयोजक क्लबको एक÷एक समूह र नेपाल आर्मी र सशस्त्र प्रहरीको एक÷एक गरी जम्मा सात वटा समूहको सहभागिता रहेको छ । 

सहभागी हरेक टोलीले पाँच जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिए पनि यस प्रतियोगितामा कर्णाली प्रदेशको समूहमा ३ जना र आयोजक समूहमा र्२ जना विदेशी खेलाडीहरू पनि सहभागी रहने जानकारी दिइएको  छ । 

क्लबले ‘खेलसँगै पर्यटन’ को अवधारणा अनुसार आगामी वर्ष विदेशी टिमसहितको प्रतियोगिता गर्ने तयारी गरेको र यस वर्षको प्रतियोगिता पनि विश्व रग्बीको नियमअनुसार नै सञ्चालन गरिने र प्रत्येक खेलको समयावधि १४ मिनेटको रहने तथा ७ मिनेटमा हाफ भएपछि दुई मिनेटको ब्रेक हुने तथा एउटा समूहमा १२ जना रहने भए पनि प्रत्येक टिमबाट सात÷सात जना खेलाडीले स्पर्धा गर्ने राष्ट्रिय कोच तथा गोर्खाली रग्बी क्लबका उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

खेल तालिकाअनुसार पोल ‘ए’ मा सशस्त्र प्रहरी बलको एपीएफ टोली, नेपाल आर्मीको टोली, मधेस प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् भने पोल ‘बी’मा गण्डकी प्रदेश, आयोजक गोर्खाली रग्बी क्लब र कर्णाली प्रदेश रहेका छन् । 

प्रतियोगिताको हस्पिटालिटी पार्टनर अङ्कुरम् एकेडेमी, मेडिकल पार्टनर चितवन मेडिकल कलेज, ट्राभल पार्टनर होलीडे ट्रिप नेपाल, क्लोथिङ पार्टनर थ्रेड गार्मेन्ट इमाडोल र इन्टरनेट पार्टनरमा ट्रेड माइन्ड नेटवर्क चितवन रहेको छ ।

त्यसै गरी सहयोगी संस्थाहरूमा एलआइसी कर्पोरेसन (नेपाल), राइट पाथ करियर काउन्सलिङ्ग काठमाडौँ, एसिटी एजुकेसन एन्ड भिसा सर्भिसे चितवन, एभिन्यु एजुकेसन कन्सल्टेन्सी काठमाडौँ तथा माइती रिसोर्ट कीर्तिपुर रहेको  छ ।