एटेलेटिको म्याड्रिडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

एट्लेटिको म्याड्रिडले २ गोलको अग्रता जोगाउन नसक्दा आइतबार स्पेनिस ला लिगामा बार्सिलोनासँग ४–२ ले पराजित भएको छ । गत साता एट्लेटिको रियल म्याड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।
घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । इन्जुरी समयमा दुई गोल स्वीकार गर्दै बार्सिलोनालाई जित सुम्पिन बाध्य भयो ।
यो जितपछि बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ । एट्लेटिको भने समान ६० अङ्क भएका बार्सिलोना र रियलसँग ४ अङ्कले पछि परेको छ ।
बार्सिलोनाका लागि लामिन यामालले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै खेल बराबरी गरे। त्यसपछि फेरान टोरेसले छैटौँ मिनेटमा अर्को गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण जित दिलाए ।
एट्लेटिकोका लागि जुलियन अल्भारेजले पहिलो हाफको अन्त्यतिर काउन्टर एट्याकमा गोल गर्दै अग्रता दिलाए । उनै अल्भारेजको डबल टचका कारण च्याम्पियन्स लिगमा पेनाल्टी सुट आउटमा रियलसँग पराजित हुनुपरेको थियो ।
७०औँ मिनेटमा एलेक्जान्डर सोरलोथले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए । ७२औँ मिनेटमा रबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः खेलमा फर्काए । त्यसपछि ७८औँ मिनेटमा राफिन्हाको क्रसलाई फेरान टोरेसले हेडरमार्फत गोल गर्दै खेल बराबरी गरे ।
यस अघि डिसेम्बरमा भएको पहिलो भेटमा एट्लेटिकोले बार्सिलोनालाई २–१ ले हराएको थियो । कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा यी दुई टोलीले ४–४ को बराबरी खेलेका थिए । दोस्रो लेग अप्रिलमा हुनेछ ।