नासाले बिशेष कार्यक्रम ल्याउने
गत बैशाख १२ गतेको शक्तिशाली भुकम्पका कारण ठूलो धनजनको क्षतिबाट नासाका ¥याली ड्राइभर प्रदीपकुमार शाही र रोड सेफ्टी भोल्युन्टियर सुशान्त ढकालको निधन भएको छ । नासाले विज्ञप्ती जारी गरि यसको जानकारी गराएको हो । नासाले यी दुइका साथै गोरखापत्रका खेल पत्रकार सुमन भोम्जनको मृत्युमा गहिरो दुःख प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेको छ ।
नासाले भूकम्पको पीडाबाट आहत भएका सम्पुर्ण पीडितहरुलाई केही राहत पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
१० देखि १२ बैशाखसम्म नासाको व्यवस्थापन र एफआइएकोे कार्ययोजना अनुसार नेपालमा एफआइए स्पोर्ट रिजनल कंग्रेस सम्पन्न भएको थियो । कंग्रेसकै दौरानमा भूकम्प गएको र उक्त समयमा प्रतिनिधिको रुपमा उपस्थित भएका करिब १४ देशका सबै प्रतिनिधिहरु सकुशल रुपमा स्वदेश फर्किन सफल भएको नासाले जनाएको छ । विशेष अतिथिको रुपमा उपस्थित भएका एफआइए प्रमुख जीयन टोड र ग्लोबल रोड सेफ्टी एम्बस्डर मिचेल योहोले फ्रान्सको राजधानी पेरिसमा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलाई नेपालको भूकम्पका बारेमा प्रत्यक्ष अनुभव र सहयोगको आवश्यकताका वारेमा बताएका छने । सोही भेटघाटमा मुनले राष्ट्र संघले नेपालका भूकम्पपीडितहरुका लागि विशेष सहयोगको आवश्यकता रहेको कुरा बताएको पनि विज्ञप्तीमा उल्लेख छ ।
नासाले भूकम्पपीडितहरुका लागि दीर्घकालीन सहयोग पुग्ने हेतुले प्राविधिक तालिम, बालबालिकाहरुका लागि शिक्षा तथा आपतकालीन उद्दार केन्द्र जस्ता पूर्वाधार निर्माणका लागि आगामी दिनमा विशेष कार्यक्रम लिएर आउने प्रतिबद्धता ब्यक्त गरेको छ । यसका लागि नासाको अन्तर्राष्ट्रिय महासंघ एफआइए, एफआइएम र मोटर स्पोर्ट्सको विभिन्न विदेशी एसोसिएनहरुसँग छलफल भैरहेको जनाएको छ ।