नेपाल र आयरल्यान्ड खेल्दै

cricket

भारतमा अर्काे वर्ष हुने विश्वकप छनोट चरणको खेलमा अमेरिकाविरुद्व जित र वर्षाका कारण नामिवियाविरुद्व अंक बाँडेको नेपालले सोमबार उपाधिको बलियो दाबेदार मानिएको आयोजक आयरल्यान्डसँग खेल्दै छ । खेल नेपाली समयअनुसार साँझ सात बजेपछि सिभिल सर्भिस क्रिकेट क्लब मैदान स्टोरमन्ट वेलफस्टमा हुनेछ ।

लगातार दुई जित हात पारेको आयरल्यान्डलाई पराजित गरे नेपालको अर्काे चरण प्रवेशका लागि बाटो सहज हुनेछ । नेपाल र आयरल्यान्डबीच सोमबार हुने खेल आइसिसीको पहिलो आधिकारिक खेल हुनेछ । नेपाल र आयरल्यान्ड अहिलेसम्म आधिकारिक प्रतियोगितामा आमनेसामने भएका छैनन् ।
गत वर्ष बंगलादेशमा भएको विश्व टी–२० खेलभन्दा अघि खेलिएको अभ्यास खेलमा विश्वकपको अनुभव बटुलिसकेको आयरल्यान्डले नेपाललाई पाँच विकेटले पराजित गरेको थियो । आयरल्यान्डविरुद्वको खेलमा पनि नेपालको प्रमुख हतियारको रूपमा बलिङ नै हुनेछ । ब्याटिङको तुलनामा राम्रो बलिङ गर्ने नेपालले अमेरिकाविरुद्वको खेलमा पनि उत्कृष्ट बलिङ गर्दै अमेरिकालाई सामान्य रनमै रोक्न सफल भएको थियो । वर्षाले रोकिएको नामिबियाविरुद्वको लिगको दोस्रो खेलमा भने नेपालले औसत बलिङ गरेको थियो ।
लिग चरणमा लगातार दुई जित निकालेको उपाधिको बलियो दाबेदार मानिएको आयरल्यान्डसँग पाउल स्टर्लिङ, एन्ड्रयु बालब्रिन, जर्ज डकरेललगायतका चर्चित खेलाडीहरूको बाहुल्यता छ । आयरल्यान्डलाई काउन्टी क्रिकेटमा खेल्ने खेलाडीहरूको पनि बाक्लो साथ छ । छनोट चरणभन्दा अघि आयरल्यान्डको युएई र ओमानसँगको दुवै अभ्यास खेल वर्षाले रद्द भएको थियो । छनोट चरणको पहिलो खेलमा घरेलु टोली आयरल्यान्डले नामिबियालाई सात विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा अमेरिकालाई ४६ रनले पराजित गरेको थियो ।
आयोजक आयरल्यान्डले सिभिल सर्भिस क्रिकेट क्लब मैदान स्टोरमन्ट वेलफस्टमा भएको खेलमा ४६ रनले लगातार दोस्रो जित हात पारेको हो । १४७ रनको लक्ष्य पछ्याएको अमेरिका १६.३ ओभरमा सबै विकेट गुमाएर १०० रनमा समेटिएको थियो । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा घरेलु टोलीका एलेक्स कुसाक, स्टुआर्ट थोमसन र जोन मोनीले समान दुई–दुई विकेट बाँडे ।
जर्ज डकरेल र केभिन ओब्रिनले एक–एक लिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली आयरल्यान्डले एन्डी बलविर्नेको ४४ रनको मद्दतमा १४६ रनको योगफल तयार पारेको थियो । केभिन ओ व्रिनले २३ रनको पारी खेले । जोन मनीले २० तथा स्टुआर्ट थोमसनले १५ रनको अविजित पारी खेले ।

Comment