मनाङ दोस्रो स्थानमा उक्लियो

mmc 2nd
रेडबुल राष्ट्रिय लिग फुटबलको शनीबार भएको खेलमा एमएमसी विजयी भएको छ । सातदोबाटास्थित एन्फा कम्प्लेक्सको ट्रफ मैदानमा शनिबार भएको खेलमा उपाधिको दावेदार एमएमसीले लुम्विनी फुटबल क्लबलाई २–० ले पराजित गरेको हो । पहिलो हाफ लुम्विनीसँग गोलरहित बराबरीमा रोकिएको मनाङले दुवै गोल दोस्रो हाफमा गर्दै जित निकाल्यो । एमएमसीका लागि रुपेश केसी र अनिल गुरुङले गोल गर्दै टोलीलाई महत्वपुर्ण तीन अंक दिलाए । ३३ औँ मिनेटमा विशाल राईको प्रहार गोलरक्षकले मुस्किलले बचाउदा मनाङले अग्रता लिने मौका चुकाएको थियो । ५५ औँ मिनेटमा डुडोजको पासमा अफसाइड विट ट्रयाप गर्दै रुपेश केसीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ७१ औँ मिनेटमा डुडोजको डि एरिया बाहिरको प्रहार बारमा लागेर रविाउन्ड भएको बलमा सुजल श्रेष्ठको डाइभिङ हेड पहिलोबार बाट बाहिरिदा अग्रता दोब्बर पार्नबाट चुक्यो । ८० औँ मिनेटमा सुजलले अर्काे मौका खेर फाल्यो । ८६ औँ मिनेटमा डुडोजकै प्रहार गोलरक्षकले मुस्किलले बचाए । एकपछि अर्काे आक्रमण बुनिरहेको मनाङले लगातार गोल गर्ने मौका खेर फालिरह्यो । तर, अतिरिक्त समयमा कप्तान अनिल गुरुङले विशला राईको पासलाई सदुपयोग गर्दै जित दिलाए । यसअघि ९२ औँ मिनेटमा गोलरक्षक अघि बढेको अवस्थाको फाइदा उठाउदै अनिल गुरुङकै फ्लिक  प्रहार लुम्विनीका डिफेन्डर रवि सिलवालले गोल लाइनबाट बचाएका थिए ।
मनाङसामु लुम्विनीले कुनै पनि समय पोष्टमा गतिलो आक्रमण बुन्न सकेन । जितपछि पछि मनाङका प्रशिक्षक राजुकाजी शाक्यले लुम्विनीविरुद्वको खेलमा खेलाडीहरुले आफ्नो स्वभाविक खेल खेल्न नसकेको प्रतिक्रिया दिए । ‘लुम्विनीलाई खेलमा कुनै दवाव छैन । उनीहरुलाई हारले पनि कुनै फरक पर्ने थिएन ।’  प्रशिक्षक शाक्यले नियमित गोलरक्षक विशाल श्रेष्ठले घाइते भएका कारण लिगका बाँकी सबै खेल गुमाउने बताए । विशाल नभएपनि हामीलाई कुनै फरक पर्दैन विशालको स्थानमा दिपेश यादवले खेल्नेछ । दिपेशको प्रशिक्षणमा राम्रै छ । ठुलो क्लबबाट एक्कासी खेल्दा केही दवाव आएको भएपनि बाँकी खेलमा उनले राम्रो खेल्ने बताए । हारपछि लुम्विनीका प्रशिक्षक याम प्रसाद गुरुङले दोस्रो हाफमा रणनीति परिवर्तन गर्दा पराजित हुन परेको बताए । ’
लक्ष्मीमार्ग मोरङमा भएको खेलमा एपीएफले घरेलु टोली मोरङ फुटबल क्लब विराटनगरलाई ४–१ ले पराजित गरेको छ । सशस्त्रका जितमा गणेश लावतीले ह्याट्रिक पूरा गरे । अञ्जन विष्टले अर्काे एक गोल थपे ।
लिगमा १२ खेलबाट २१ अंकका साथ झापा–११ शीर्ष स्थानमा रहँदा १० खेलबाट १९ अंकको मनाङ गोल अन्तरमा थ्रीस्टारलाई पछाडि पार्दै दोस्रो उक्लिएको छ ।

Comment