दोस्रो ‘मिस्टर फिटनेस फस्र्ट’ चैत २० मा
शारिरीक सुगठनको विकास तथा विस्तारमा २ वर्षदेखि सक्रिय रहेको राजधानीको कलंकी, ढुंगेअड्डास्थित फिटनेस फस्र्टले आगामी चैत २० गते शनिबार दोस्रो ‘मिस्टर फिटनेस फस्र्ट’ प्रतियोगिता आयोजना गर्ने भएको छ । फिटनेस फस्र्ट काठमाण्डौको पश्चिम भेग तथा चन्द्रागिरी नगरपालिका क्षेत्रमा चर्चित शारिरीक सुगठन, व्यायाम योगा तथा एरोबिक प्रशिक्षण केन्द्रको रुपमा परिचित छ ।
गतवर्ष पहिलो ‘मिस्टर फिटनेस फस्र्ट’ को प्रतियोगिता सफल भएपछि हौसिएर दोस्रो प्रतियोगिता आयोजना गर्न लागिएको फिटनेस फस्र्टका वरिष्ठ प्रशिक्षक एवम् संस्थापक निर्देशक लक्ष्मण भट्टले बताए । साथै थाइल्याण्डमा सम्पन्न भएको विश्व बडिविल्डिङ्ग च्याम्पियनशिपमा रजत पदक विजेता रुजेश शाहीलाई सो अवसरमा सम्मान गरिने पनि भट्टले बताए ।
सफ्टवेयर कम्पनी ‘सिल्भर लाइन सिस्टम इन्टिग्रेटर्स’ मुख्य प्रायोजक तथा न्यूट्रिशन वेयर हाउस ट्रेक सहप्रायोजक रहेको सो प्रतियोगितामा नेक्स्ट मोडेल्स नेपालको तर्फबाट वृहत फेशन शो आयोजना गरिने पनि भट्टले बताए ।
प्रतियोगितामा उत्कृष्ट हुने एकजनालाई दोस्रो ‘मिस्टर फिटनेस फस्र्ट’ को टाइटल सहित नगद १५ हजार रुपैयाँसहितको पुरस्कार दिइने अर्का वरिष्ठ प्रशिक्षक एव्म संस्थापक निर्देशक बिनोद बज्राचार्यले बताए । वरिष्ठ प्रशिक्षक बज्राचार्यका अनुसार ५० देखि ६०केजी, ६०देखि७० केजी र ७० केजीदेखि माथिको गरि भिन्नाभिन्नै ३ वटा तौलसमूहमा प्रतियोगिता आयोजना गरिने र हरेक समूहका ३÷३ जना खेलाडीलाई ५ हजार नगद सहित पहिलो, ३ हजार नगद सहित दोस्रो र २ हजार नगद सहित तेस्रो पुरस्कार पनि दिइने छ । साथै टाइटल जित्ने र तीनैवटा तौलसमूहका प्रथमलाई जनही १०।१० हजार रुपैयाँ बराबरको प्रोटिन पनि पाउनेछन । चन्द्रागिरी नगरपालिका अन्तर्गत कलंकी, ढुंगेअड्डा, मातातिर्थ तथा थानकोटमा रहेको फिटनेश फस्र्टका ३ वटा शाखामा तालीम लिईराखेका शारिरीक सुगठनका ४० देखि ५० जना प्रशिक्षार्थीहरुले सो प्रतियेगितामा भाग लिने पनि वरिष्ठ प्रशिक्षक भट्टले जानकारी दिए । फिटनेश फस्र्टको ३ वटा शाखामा अहिले ३०० जना युवती तथा महिला एवम् युवा तथा पुरुषहरुले विभिन्न समयमा शारीरिक सुगठन, व्यायाम, योगा, एरोबिकको साथै शारिरीक सुगठनको तालीम लिईराखेको फिटनेश फस्र्टका अध्यक्ष डा.नारायणप्रसाद सुवेदीले बताए । संस्थापक निर्देशकहरु लक्ष्मण भट्ट, विनोद बज्राचार्यका साथै बुद्धिजङ्ग कार्की र निरेन शाहीले प्रशिक्षण दिँदै आएका छन् ।
बैशाख १२ को भूकम्पपछि विभिन्न ठाउँमा राहत वितरणको साथै विभिन्न समयमा सामाजिक कार्यमा समेत संलग्न रहँदै आएको फिटनेस फस्र्टले गतवर्ष पहिलो मिस्टर फिटनेस फस्र्ट प्रतियोगिता आयोजनाको अवसरमा शारिरीक सुगठनका राष्ट्रिय र अन्तराष्ट्रिय पदकविजेता खेलाडीहरु महेश्वर महर्जन, श्याम श्रेष्ठ, ज्ञानेन्द्र नकर्मी, ज्ञान नारायण महर्जन र बुद्धिजङ्ग कार्कीलाई सम्मान गरेको थियो ।