आशिष र लुझलालाई तीन स्वर्ण

lalitpure
आईडल मोडल स्कुलका आशिष खत्री र लुझला अमात्य ललितपुर जिल्ला स्तरिय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १०० र २०० मिटर दौड तथा लङ्गजम्पमा विजय हात पार्दै तीन स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको १०० मिटर दौडमा छात्र तर्फ आशिषले १२.४ सेकेन्ड र छात्रा तर्फ लुझलाले १४.६ सेकेन्डका साथ दूरी पुरा गर्दै प्रथम स्थान हात पार्न सफल भएका हुन् । छात्रमा पवन प्रकृतीका सरोज राई द्वितीय र प्रविन मैनाली तृतीय भए । यस्तै छात्रा तर्फ पवन प्रकृतीकै सफलता थापा र परिना राई दोश्रो र तेश्रो भए ।
२०० मिटर दौडमा आशिषले २५.१ सेकेन्ड र लुझलाले ३३.२ सेकेन्डका साथ दूरी पार गर्दै स्वर्ण हासिल गरे । सो स्पर्धामा छात्र तर्फ पवन प्रकृतीका प्रविन मैनालीले रजत र डिएभीका कविर बहादुर शाहले कास्य पाए । छात्रा तर्फ पवन प्रकृतीकी त्रिसला महर्जनले रजत र सेन्टजेभियरकी संगिना महर्जनले कास्य पाए ।
शुक्रबार भएको प्रतियोगिताको लङ्गजम्प तर्फ पनि आशिष र लुझलाले स्वर्ण प्राप्त गरे । आशिषले ५.०८ मिटर र लुझलाले ३.८० मिटरको दूरी नापे । यस स्पर्धामा छात्र तर्फ सेन्टजेभियरका रुपेश यादवले रजत र पवन प्रकृतीका सोहन महर्जनले कास्य पाए । छात्रा तर्फ पवनकी सफलता थापाले रजत र सुदेशाकी सविना माझीले कास्य प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका सचिव सुजन खतिवडाले जानकारी गराए ।

Comment