पदक विजेता सम्मानित
नेपाल जित कुण्डो मार्सल आर्ट संघले इन्डो–नेपाल जित कुण्डो च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई शनिबार सम्मान गरेको छ । भारतको कोलकातामा फब्रुअरी ४ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ५ स्वर्ण, ३ रजत र १ कांस्य गरी ९ पदक जितेको थियो ।योगेश दनुवार, अल्ताप दनुवार, रविन दनुवार, विशव दनुवार र प्रमोद माझीले नेपाललाई स्वर्ण दिलाएका थिए । सन्जिव खड्का, रोशन तिल्वार र कुशल धामीले रजत हात पारे । कांस्य विजेतामा सुशान्त तिमिल्सिना छन् ।
उक्त प्रतियोगतामा निर्णायकको भूमिका निर्वाह गरेका दीपेन्द्र श्रेष्ठ, राजु मगर, सुसाङ्ग काउछा मगर र नवराज दनुवार पनि सम्मानित भए ।उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेन्द्र श्रेष्ठ (राजु), संघका अध्यक्ष विमल खड्कालगायतले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
यसैबीच संघकै आयोजनामा चौथो राष्ट्रिय जित कुण्डो सेमिनार शनिबारै सम्पन्न भएको छ । एक दिने सेमिनारमा ३८ जनाले सहभागिता जनाएको संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाएका छन् । उनीहरुलाई पनि सोही अवसरमा प्रमाण पत्र वितरण गरिएको थियो ।