संघ छानविन समितिले प्रतिवेदन बुझायो
राष्ट्रिय खेलकुद परिषदकी सदस्य शान्ति सिंहको संयोजकत्वमा गठित छानविन समितिले परिषद्का सदस्य सचिव केशव कुमार विष्टलाई सोमबार छानविन प्रतिवेदन बुझाएको छ ।राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका संघहरुको व्यवस्थापनका लागि राय सुझाव पेश गर्न राष्ट्रिय खेलकुद परिषद सदस्य सचिवस्तरिय निर्णयानुसार २०७२ पौष ९ गते परिषद सदस्य सिहको संयोजकत्वमा संघ संस्था समन्वय शाखाका अधिकृत ज्ञानेन्द्र श्रेष्ठ सदस्य र खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत सारङ्गिन निरौला सचिव रहने गरि तीन सदस्यीय राष्ट्रिय खेल संघ छानविन समिति गठन गरेको थियो ।
समितिले आफुलाई प्राप्त निर्देशन बमोजिम बुझाएको प्रतिवेदनमा राष्ट्रिय खेल संघहरुलाई व्यवस्थित र क्रियाशिल बनाउनको लागि विभिन्न निक्यौल निकाल्दै परिषदको ऐन नियम तथा विधान बमोजिम संचालन नभएका संघहरुलाई नियमानुसार हुन निर्देशन दिने, एकै प्रकारका खेल भएका संघ, महासंघहरुलाई निश्चित समायावधी भित्र एकिकरण गर्नु पर्ने, परिषदमा दर्ता भएका तर निस्कृय भएका संघहरुको दर्ता खारेजी गर्नु पर्ने, क्रियाशिल भएका संघहरुको बार्षिक मुल्याङकन गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नतिजा ल्याउन सफल संघहरु मध्ये तीन संघहरुलाई पुरस्कृत गर्नु पर्ने तथा समग्र खेल विकासको लागि यथा सक्य छिटो राष्ट्रिय खेल संघ संचालन कार्यविधि तयार गरि लागु गर्नु पर्ने निक्र्योल निकालेको छ । प्रतिवेदन बुझ्दै सदस्य सचिव विष्टले यस प्रतिवेदनले दिएका राय सुझावले नेपाली खेलकुदमा नयाँ आयामको थालनी हुनेमा आफु विस्वस्त रहेको बताए ।