कर्मचारी संघको राखेपलाई ज्ञापन पत्र

karmacharie
राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले तीन सुत्रिय माग राख्दै सदस्य सचिव केशव कुमार विष्टलाई मंगलबार ज्ञापन पत्र बुझाएको छ । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा संघ लगायत कर्मचारीहरुले सदस्य सचिव विष्टलाई उक्त माग पत्र बुझाएको हो ।
राष्ट्रिय खेलकुद परिषदमा २०६३ साल पछि कर्मचारीको बढुवा नभएकाले कर्मचारीमा निरुत्साहीपनको बढोत्तरी भएका कारण आवश्यक कार्यकुशलता प्रस्तुत गर्न नसकेको तर्फ माग पत्रमा औल्याईएको छ । कर्मचारीको बृत्ति विकास गर्ने काम परिषदको भएका कारण यथा सिघ्र बढुवाको कामलाई कार्यान्वयन गर्ने तर्फ कदम चाल्न परिषदलाई दवाव दिईएको छ । पदस्थापन नभएका कारण कार्यशैलीमा समेत वैधानिक बाधा अड्चन आउने तर्फ पनि माग पत्रमा औल्याईएको छ ।
यस्तै एकातिर कर्मचारी अवकास हुंदै जाने र अर्को तर्फ रिक्त रहेको पदमा पदपूर्ति नहुनाका कारण कुनै समयमा गएर परिषद् खाली हुने भन्दै लामो समयदेखि करारमा काम गर्दै आईरहेका कर्मचारीहरुलाई समेत समायोजन गर्ने गरि पद पूर्तिको काम छिटैनै अगाडी बढाउन माग गरिएको छ ।
यस्तै माग पत्रमा आगामी बर्षको लागि माग गरिएको बजेटमा खेलाडीहरुको हक हितको लागि खेलाडीहरुलाई आवश्यकिय प्रशिक्षणको व्यवस्था गर्ने, खेलाडीहरुको मनोबल उच्च राख्न खेलाडीहरुलाई उचित पुरस्कार राशीको व्यवस्था गर्ने, उच्च स्तरका खेल सामाग्रीहरुको आपूर्ति गर्ने, चारा छरे जस्तै गरेर बजेट विनियोजन नगरी परिषदको आफ्नो अधिनमा रहेको जग्गामा बन्ने संरचनामा मात्र निर्माण गर्न मिल्ने गरि बजेट विनियोजन गर्ने, खेलाडी प्रशिक्षक र कर्मचारीहरुको कार्यकुशलता बृद्धि गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षणहरुको व्यवस्था गर्नु पर्ने उल्लेख गरिएको छ ।
ज्ञापन पत्र ग्रहण गर्दै सदस्य सचिव विष्टले कर्मचारीहरु पनि परिषदका अंग भएकाले त्यस तर्फ परिषदको ध्यानाकर्षण भएको भन्दै यो माग पत्र नभई सुझाव पत्र भएको विचार राखे । उनले कर्मचारीहरुले उठाएको कुराहरुमा परिषदले कार्य थालनी गरि सकेको भन्दै कर्मचारीहरु सम्म उक्त सुचना पुग्न मात्र नसकेको बताए । उनले उक्त कार्य सम्पादन गर्दा आउने कमि कमजोरीलाई सवै एकै थलोमा बसेर समस्या समाधान गर्न कर्मचारी संघ संग अनुरोध गरे ।

Comment