प्रणव र माहिकाको जोडी फाइनलमा

प्रणव खनाल र माहिका राणाको जोडी चौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । प्रणव र माहिकाको जोडीले रेन्जन लामा र मायांका राणाको जोडीलाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गर्दै संरक्षकभूषण वज्राचार्य र विभूति कार्कीको जोडीसंग फाइनल भेट पक्का गरे । अर्को सेमिफाइनलमा संरक्षक र विभूतिको जोडीले महेश श्रेष्ठ र इरा रावतको जोडीलाई ६–३ र ६–० को सोझो सेटमा हराएका थिए ।
काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्सको उपाधि कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले जिते । उक्त जोडीले फाइनलमा श्रीराम मगर र कमल भण्डारीको जोडीलाई ६–७, ७–६ र १०–६ ले पाखा लगाए ।
भेट्रान्स ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छेम्बा डुन्डुपको जोडीले फादर म्याथ्यु र प्रेम थापाको जोडीलाई ६–२ र ६–३ को सीधा सेटमा पन्छ्याउदै पहिलो स्थान हात पारे । सोही स्पर्धाको ३५ वर्षमाथिको उपाधि राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीले कब्जा गरे । उक्त जोडीले फाइनलमा राजन पौडेल र नवीन चालिसेको जोडीलाई ६–१ र ६–२ ले निराश पारे ।
भेट्रान्स ३५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठले सुकुमान तामाङलाई ६–० र ६–२ तथा श्रीराम मगरले प्रताप मोक्तानलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा प्रताप मोक्तानले आशिष सिग्देललाई ४–६, ६–१ र १०–३ तथा कृष्णराज घलेले मनोजविक्रम शाहलाई ६–१ र ६–२ ले हराउदै फाइनल भेट निश्चित गरे । भेट्रान्स ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोज राणा र छेम्बा डुन्डुप फाइनलमा प्रवेश गरे । सेमिफाइनलमा मनोजले ध्रुव गुरुङलाई ६–१ र ६–१ तथा छेम्बाले पृथ्वी थकालीलाई ७–५, २–६ र १२–१० ले पाखा लगाए ।भेट्रान्स ४५ वर्षमाथि पुरुष डबल्समा राजु क्षेत्री र डेगेन्द्र श्रेष्ठ, राजेन्द्रसिंह भण्डारी र आशिष सिग्देल, धरमसिंह लामिछाने र दोर्जे लामा तथा उमेश शाही र रामेश्वर थापाको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।