संरक्षक र विभूति पहिलो

Manoj Shiama
29 April, 2016 7:40 pm

samrachyake
संरक्षकभूषण वज्राचार्य र विभूति कार्कीको जोडीले चौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि शुक्रबार जितेका छन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको फाइनलमा उक्त जोडीले प्रणव खनाल र माहिका राणाको जोडीलाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे ।
भेट्रान्स ३५ वर्षमाथि पुरुष सिंगल्समा श्रीराम मगर पहिलो भए । उनले उपाधि भिडन्तमा महेशश्रेष्ठलाई ६–२ र ६–२ को सीधा सेटमा हराए । भेट्रान्स ४५ वर्षमाथि पुरुष सिंगल्समा कृष्णराज घलेले बाजी मारे । फाइनलमा उनले प्रताप मोक्तानलाई ६–१ र ६–४ को सोझो सेटमा निराश पारे ।
काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगितामा मनोज राणा भेट्रान्स ५५ वर्षमाथि पुरुष सिंगल्समा पहिलो बने । मनोजले उपाधि भिडन्तमा छेम्बा डुन्डुपको चुनौती ७–५ र ६–१ ले समाप्त पारे ।
भेट्रान्स ४५ वर्षमाथि पुरुष डबल्समा राजु श्रेष्ठ र डेगेन्द्र श्रेष्ठको जोडी शीर्ष स्थानमा रहे । उक्त जोडीले उमेश शाही र रामेश्वर थापाको जोडीलाई फाइनलमा ६–२ र ६–२ को सोझो सेटमा पाखा लगाए । प्रतियोगिताको अन्तिम दिन शनिबार पुरुष÷महिला सिंगल्सफाइनल हुने छ । पुरुषमा संरक्षकभूषण वज्राचार्य र कमल भण्डारी उपाधिका लागि भिड्ने छन् ।महिलाको उपाधि भिडन्त जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाबीच हुने छ । प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ९ हजार रुपैयाँ रहेको छ ।