साग पदक विजेता ब्याडमिन्टन खेलाडी सम्मानित

Manoj Shiama
7 May, 2016 6:19 pm

nangsala tamange
नेपाल ब्याडमिन्टन संघको साधारण सभाको उद्घाटन सत्रमा ब्याडमिन्टन संघले भारतमा गत फेब्रुअरीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान ग¥यो ।
सागको ब्याडमिन्टनमा नेपालले महिला स्पर्धामा दुई कांस्य जितेको थियो । महिला सिंगल्स र टिममा कांस्य हात पारेको हो । महिला सिंगल्समा नङशल तामाङले कांस्य जितेकी थिइन् । नङशललाई संघले ६० हजार रुपैया सहित प्रशंसा पत्रबाट सम्मान ग¥यो ।
त्यस्तै पूर्व घोषित पुरस्कार अनुसार ब्याडमिन्टन संघका सदस्य चन्द्रशेखर लामाले नङशललाई छुट्टै ५१ हजार रुपैया पुरस्कार प्रदान गरे । १२ औं सागको तयारीका लागि खेलाडीहरु सुनसरीको धरानमा रहेका बेला लामाले व्यक्तिगत स्पर्धामा पदक जित्ने खेलाडीलाई पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।
महिला टिम इभेन्टमा कांस्य जितेका सात सदस्यीय टोली सरादेवी तामाङ, नङशल, शिक्षा श्रेष्ठ, अमिता गिरी, जेशिका गुरुङ, मेघा चन्द तथा अनुमाया राई नगद २५–२५ हजारसहित प्रशंसा पत्रबाट सम्मानित भए । सम्मानित हुने प्रशिक्षकमा रजनीमैया जोशी, जयन्तकुमार श्रेष्ठ र मेघराज कठायत तथा व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ रहेका छन् । उनीहरुले पनि २५–२५ हजार रुपैया पाए । दक्षिण कोरियाको इन्चोनमा २०१४ को सेप्टेम्बर÷अक्टोबरमा सम्पन्न १७ औं एसिायली खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा पाँचौं स्थान हासिल गर्न सफल रत्नजित तामाङ, विकास श्रेष्ठ, साजनकृष्ण ताम्राकार र विष्णु कटुवाललाई समान २५ हजार नगद पुरस्कार दिइयो । प्रशिक्षक रजनीमैया, सुदीप योञ्जन र किरण थापा तथा व्यवस्थापक मिन केसीलाई पनि २५ हजारका दरले पुरस्कृत गरियो ।
सिंगापुरमा २०१५ को नोभेम्बरमा भएको एसियन युथ ब्याडमिन्टन प्रतियोतिगाको जुनियर पुरुष सिंगल्स यु–१९ मा क्वाटरफाइनल पुग्न सफल दीपेश धामी २० हजार नगदसहित सम्मानित भए ।
त्यस्तै बंगलादेशको ढाकामा २०१४ को डिसेम्बरमा सम्पन्न बंगलादेश अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज प्रतियोगिताको पुरुष सिंगल्समा क्वाटरफाइनल पुगेका रत्नजित तामाङले २० हजार नगद पुरस्कार थापे । सोही प्रतियोगितामा सोही उपलब्धी हात पारेका पुरुष डबल्समा रत्नजित र विकास श्रेष्ठ, मिक्स डबल्समा रत्नजित र सरा÷विकास र नङशल, महिला डबल्समा सरा र नङशल तथा मीना श्रेष्ठ र अमिता गिरीको जोडी १०–१० हजार रुपैयाबाट पुरस्कृत भए ।