सीडब्लुसीएन जुडो कप शुक्रबार
बाल वातावरण केन्द्र, नेपाल (सीडब्लुसीएन) को आयोजनामा चौथो सीडब्लुसीएन जुडो कप तथा दोश्रो सीडब्लुसीएन अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप शुक्रबार हुने भएको छ ।प्रतियोगितामा नेपालका विभिन्न जिल्ला, क्लब, डोजो, विद्यालय, कलेज र संघसंस्था तथा भुटानका गरी जम्मा २ सय खेलाडीको सहभागिता रहने नेपाल जुडो संघका महासचिव समेत रहेका आयोजकका अध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् । पुरुष÷महिलातर्फ समान ५–५ गरी जम्मा १० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
परिवारबाट परित्याग सडक तथा जोखिम परिस्थितिका बालवालिकाको उद्दार र संरक्षणमा कार्यरत सीडब्लुसीएनले आफ्नो १३ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजना गर्न लागेको प्रतियोगितामा नेपाल जुडो संघको प्राविधिक सहयोग रहने छ ।
नयाँपाटीमा हुने एकदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख खर्च हुने आयोजकले जनाएको छ । सोही दिन भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल जुडो खेलाडीलाई पनि सम्मान गरिने छ ।