अजय र जसाङको बिदाइ
शंखमूलस्थित इनोभेटिभ इङलिस स्कुलले बंगलादेशको ढाकामा हुने फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा सहभागी हुने आफ्ना पूर्व विद्यार्थी खेलाडीद्वय अजय कुँवर र जसाङ सुनुवारलाई मंगलबार बिदाइ गरेको छ ।बंगलादेशको ढाकामा बुधबारदेखि सुरु हुने प्रतियोगितामा भाग लिन उनीहरुसंगै १२ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापकसहित १५ सदस्यीय नेपाली टोली मंगलबारै ढाका प्रस्थान गरेको छ ।
अजयसंग २०१४ मा बंगलादेशमै भएको दक्षिण एसियाली यु–१६ बास्केटबल च्याम्पियनसिप तथा २०१२ मा जापानमा भएको यु–१४ बास्केटबल फेस्टिबलमा खेलेको अनुभव छ ।त्यस्तै राजधानीमा २०१४ मा भएको दोश्रो यु–१४ राष्ट्रिय बास्केटबल प्रतियोगितामा इनोभेटिभले उपाधि जित्दा अजय टोलीका कप्तान थिए । त्यसबेला जसाङ पनि टोलीका सदस्य थिए ।
उनीहरुलाई इनोभेटिभ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ चौलागाईं र प्रबन्ध निर्देशक अनन्त कुँवरले प्रोत्साहन स्वरुप ज्याकेट हस्तान्तरण गरी मंगलबार बिदाइ गरे । यसअघि सम्पूर्ण टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सोमबार सातदोबाटोमा बिदाइ गरे ।