रत्न र बिष्णु क्वाटरफाईनलमा
नेपाली सेनाका रत्नजित तामाङ्ग, नेपाल प्रहरीका बिष्णु कटुवाल, सेनाका नविन श्रेष्ठ र भोजपुरका विकास श्रेष्ठ पाँचौ पुष्पलाल ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको लिग खेलमा उच्च अंक प्राप्त गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन् ।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा रत्नले सेमिफाईनलको लागि एपिएफका जोसेफ अधिकारीको सामना गर्ने छन् । यस्तै क्वाटरफाईनलमा बिष्णुले एपिएफकै विजित थापामगर, नविनले सेनाकै दिपेश धामी र विकासले एपिएफका सुदीप सेढाईको सामना गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा जारी प्रतियोगिताको महिला एकलको लिग चरणको खेलमा सेनाकी नङ्गशल देवी तामाङ्गले कैलालीकी दुर्गा भन्डारीलाई २१–७ र २१–१० ले पराजित गरिन् । यस्तै सेनाका अनुमाया राईले सेनाकै मेघा चन्दलाई २१–१७ र २१–१४ले, जेसिका गुरुङ्गले अमिता गिरीलाई १९–२१, २१–१८ र २१–१७ले तथा सुनैना मुखियाले एपिएफकी शोभा गौचनलाई २१–१४ र २३–२१ले पराजित गरेका छन् ।
छात्रा एकल तर्फको प्रतिस्पर्धामा सेनाका मेघा चन्द, जेसिका गुरुङ्ग र रशिला महर्जन अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् । यस्तै अन्तिम आठमा स्थान बनाउने अन्य खेलाडीहरुमा मोरङ्गका निता लम्साल र सिमा राजवंशी, भक्तपुरकी सफी खत्री, कन्चनपुरकी रञ्जना भट्ट, तथा बाँकेकी समिक्षा न्यौपाने रहेका छन् ।
शनिबार एक समारोहविच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले पानसमा द्विप प्रज्वलन गरि प्रतियोगिताको उद्घाटन गरेका थिए ।