कास्की टिम च्याम्पियन
कास्की जिल्लाले अल नेपाल क्योकुसिन बुदो काई कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । कास्कीले ५ स्वर्ण, ४ रजत र ११ कांस्य जित्यो ।नेपाल क्योकुसिन बुदो काई कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रोचक सेट्ठी तथा महिलामा पवित्रा चौधरी उत्कृष्ट खेलाडी चुनिए ।पुरुषको ३० केजीमा इन्द्रबहादुर थापा, ४० केजीमा राजुकुमार यादव, ५० केजीमा रितिक मागिया, ६० केजीमा गणेश अधिकारी तथा खुला तौलसमूहमा ओमराज पुन पहिलो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिला ४० केजीमा एलिसा बराल, ५० केजीमा अम्बिका जिसी तथा खुलामा सुस्मी श्रेष्ठले स्वर्ण जिते ।
विजेतालाई नेपाल क्योकुसिन कराते डो संघका अध्यक्ष जगतप्रसाद गौचनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ९२ खेलाडीले ८ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक संघका संस्थापक एवं प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जनाएका छन् ।