पुलिस र एपीएफ समुह विजेता बन्दै सेमिफाइनलमा
यति फलोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस र शसस्त्र प्रहरीको एपीएफ क्लब समुह विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् । शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालित प्रतियोगितामा दुवै टिम अपराजित रहदै अन्तिम चार मा स्थान बनाएका हुन् । समूह चरणमा एक जित एक हारको मिश्रित नतिजा निकालेका न्यु डायमण्ड र पश्चिमान्चल पनि उपबिजेताको रुपमा सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनलमा एपीएफले न्यू डायमण्ड तथा पुलिसले पश्चिमाञ्चलसँग खेल्नेछन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमवार भएको लिग खेलमा एपीएफले दोहोरो सफलता निकाल्यो । पहिलो खेलमा एपीएफले पश्चिमाञ्चलाई २५–८,२५–१६ र २५–१५को सोझो सेटमा हरायो । त्यस्तै दोस्रो खेलमा एपीएफले जाउलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१४,२५–५ र २५–४ ले स्तब्ध पार्यो । त्यसैगरि पुलिसले पनि त्रिभूवन आर्मी क्लबलाई २५–१५,२५–२२ र २५–१५ को सोझो सेटमा हरायो ।