एपीएफलाई यति फलोरिङ राष्ट्रिय महिला भलिबलको उपाधि
एपीएफ क्लबले यति फलोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधि बुधवार जितेको छ । एपीएफले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई सोझो सेटमा हरायो । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनलमा एपीएफले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो ।
प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी सर्वोत्कष्ट खेलाडीबाट पुरस्कृत भइन । सरस्वतीले १५ हजार र बुद्ध एयरको माउन्टेन फलाइट टिकट प्राप्त गरिन । उत्कृष्ट खेलाडिको नगद सौजन्य अम्बिका शर्माले गरेकी थिईन् । यसैगरी प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, एपीएफकी नेविका चौधरी उत्कृष्ट सर्भर, एपीएफकी उषा विष्ट उत्कृष्ट ब्लकर, एपीएफकी बिनिता बुढाथोकी उत्कृष्ट सेटर, नेपाल पुलिस क्लबकी कमला पुन उत्कृष्ट डिफेन्स भइन् । प्रशिक्षकमा एपीएफका सुदेश कुमार रिमालले ट्रफी पाए । तेस्रो स्थानका लागी भएको खेलमा डायमन्डले पश्चिमाञ्चललाई २५–१४, २५–१९, २३–२५ र २५–१७ ले हराएको थियो । छ बिधाका उत्कृष्टलाई भलिबलका निवर्तमान अध्यक्ष दान बहादुर तामाडले नगद १८ हजार प्रायोजन गरेका थिए । प्रतियोगितालाई मुख्य प्रायोजक केडिया ग्रुपको उत्पादन यती फलोरिङले ५ लाखको मुख्य प्रायोजन गरेको थियो । आइएमइ रेमिटले सह–प्रयोजकको रुपबाट २ लाख प्रायोजन गरेको थियो । रामेछाप प्रितिका समाजसेवी सम्बरवहादुर तामाङले तेश्रो पुरस्कारका लागि नगद ४० हजार प्रायोजन गरेका थिए । अनन्त लिङ्गेश्वर नगरपालिकाले २५ हजार,धनकुटा निवासी कल्पतरु आवासका प्रबन्ध निर्देशक डम्वरवहादुर बस्नेतले नगद २५ हजार सौजन्य गरेका थिए । त्यस्तै नेपाल टेलिकम,बर्जर पेन्ट,कन्साइ पेन्ट,न्यु बि आर इन्टरप्राइजेज मानभवनले प्रतियोगिताका लागि ब्यानर सपोट गरेका थिए ।
विजेता एपीएफले १ लाख रुपैया, दोस्रो भएको पुलिसले ६० हजार र तेस्रो भएको डायमन्डले ४० हजार पाएको छ । शेर बहादुर खड्का स्मृती प्रतिष्ठान बालकोट–१ ले गरेको प्रतियोगिताको विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब बहादुर विष्ट, नेपाल भलिबल संघ अध्यक्ष मनोरञ्जनरमण शर्मा, निवर्तमान अध्यक्ष दान बहादुर तामाड प्रतिष्ठानका अध्यक्ष रन्जन खड्कालगातयले पुरस्कृत गरेको थिए । प्रतियोगिताका मुख्य प्रायोजक केडिया ग्रुपका प्रबन्ध निर्देशक अनिलकुमार केडिया,सह–प्रयोजक आइएमइ रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल,बालकोटका श्यामवहादुर रानाभाटको पनि उपस्थिति रहेको थियो । १२ असार देखी सुरुभएको प्रतियोगितामा विभागीय टोली एपिएफ, पुलिस, न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गरेको थिए ।
एपिएफ प्रतियोगिताको साविक विजेता हो । गत वर्ष पहिलो संस्करणको फाइनलमा एपिएफले न्यु डायमन्ड एकेडेमीलाई हराएको थियो ।