फुटसल प्रिमियर लिग हुने

futsale
पछिल्लो समय नेपालमा निकै चर्चित बनेको फुटसल(इन्डोर फुटबल) को प्रिमियर लिग हुने भएको छ । फुटसल प्रिमियर लिग नेपालमा हुन लागेको यो पहिलो पटक हो।  यसअघि फुटसलका विभिन्न प्रतियोगिताहरु भएपनि लिग भने हुन सकेको थिएन । एएमए इभेन्ट्स प्रालिको आयोजनामा काठमाडौंमा फुटसलमै १० लाख पुरस्कार राशिको फुटसल प्रिमियर लिग हुन लागेको हो । लिगमा १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । उत्कृष्ट १६ टिम छनोटका लागि साउन १० गतेबाट छनोट चरणका खेलहरु शुरु हुने र लिग भदौ तेस्रो साताबाट हुने प्रतियोगिताका संयोजक विवेक गौतमले जानकारी गराए । छनोट चरणका खेलहरु भने नकआउटका आधारमा हुनेछ । छनोट चरणमा करिव ६० भन्दा बढी फुटसल टिमले सहभागिता जनाउन सक्ने आयोजकले बताएको छ ।
लिग चरणमा हरेक टिमले होम एण्ड अवेका आधारमा खेल खेल्नेछ । लिगचरणका कुल २४० खेल हुनेछ । लिगका खेलहरु शुक्रबार र शनिबार हुनेछ । एक दिनमा आठ खेल हुने आयोजकले बताए । फिफाको फुटसल नियमअनुसार नै प्रतियोगिता गराउन प्रतियोगिता संयोजक विवेक गौतमले जानकारी गराए । यस्तै गौतमले प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ(एन्फा)सँग पनि सहकार्य गर्ने बताए । प्रतियोगितामा हरेक टिमले एक जना ‘ए’ डिभिजन लिगका खेलाडी राख्न पाउने प्रावधान राखिएको छ । भाद्र तेस्रो साताबाट शुरु हुने लिग पौष तेस्रो सातासम्म चल्नेछ । विजेताको छिनोफानो अंकका आधारमा गरिने छ । यदि अंक बराबरी भए गोलअन्तर तथा हेड टु हेडका आधारमा छानिने छ । खेलकुदमा पहिलो पटक हात हालेको बताउदै यसले सफलता पाए आगमी वर्षहरुमा पनि लिगलाई निरन्तरता दिदै जाने संयोजक गौतमले बताए ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट हुने खेलाडी र गोलरक्षकले जनही ५० हजार प्राप्त गर्ने आयोजकले जानकारी गरए ।

Comment