प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको तयारी पूरा

Manoj Shiama
10 July, 2016 7:50 pm

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदको तयारी पूरा भएको छ । सोमबारदेखि सुरु हुने पाँच खेल समावेश खेलकुदको तयारी पूरा भएको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका सचिव प्रकाशचन्द्र घिमिरेले जनाएका छन् ।प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष÷महिला ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालतर्फ प्रतिस्पर्धा हुने छ । भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, बास्केटबल त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर तथा टेबलटेनिस लैनचौस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।
तीनदिने प्रतियोगितामा विभिन्न ८ विश्वविद्यालयका २ सय ७ खेलाडी सहभागी हुनेछन् ।प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेप सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा १६ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने छ ।