शितल र राजुलाई स्वर्ण

Manoj Shiama
16 July, 2016 11:16 am

पश्चिमाञ्चलका शितल रेग्मी र सुदूरपश्चिमाञ्चलका राजु राना मगरले चौथो राष्ट्रिय जितकुण्डो प्रतियोगिताको पहिलो दिन शुक्रबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा भएको पुरुष ३० केजीमुनि फाइनलमा शिलतले मध्यपश्चिमाञ्चलका गोविन्दश्रेष्ठलाई पराजित गरे । ३०.५ देखि ३५ केजीमा राजुले मध्यपश्चिमाञ्चलका अमृत तामाङलाई हराउदै शीर्ष स्थान हात पारे ।
नेपाल जितकुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको ५०.५ देखि ५५ केजीमा मध्यमाञ्चलका अम्बर दनुवार तथा ६५.५ केजीमाथि सुदूरपश्चिमाञ्चलका प्रकाश रिमाल पहिलो भए । अम्बरले पूर्वाञ्चलका निरन खत्री तथा प्रकाशले मध्यमाञ्चलका विश्व दनुवारलाई फाइनलमा निराश पारे ।महिला ३०.५ देखि ३५ केजीमा पश्चिमाञ्चलकी आरती दनुवारले सोही क्षेत्रकी सुस्मा दनुवार, ३५.५ देखि ४० केजीमा मध्यपश्चिमाञ्चलकी सुमिना दनुवारले मध्यमाञ्चलकी सुमित्रा दनुवार, ४५.५ देखि ५० केजीमा सुदूरपश्चिमाञ्चलकी अर्चना मल्लले मध्यपश्चिमाञ्चलकी डिना बडेला तथा ६०.५ केजीमाथि मध्यमाञ्चलकी रविना दनुवारले मध्यमाञ्चलकै सुनीता माझीलाई उपाधि भिडन्तमा पाखा लगाउदै स्वर्ण चुमे ।
प्रतियोगिताको युवा तथा खेलकुद पूर्व मन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा पाँच क्षेत्र ८१ खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।