फुपू ल्हामु खत्रीलाई महिला खेलाडीको अवार्ड

Manoj Shiama
21 July, 2016 9:23 pm

phupu
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ अन्तरगत बर्षका उत्कृष्ट महिला खेलाडीको अवार्ड जुडोकी फुपू ल्हामु खत्रीले जितेकी छिन् । लेलेप, ताप्लेजुङकी फुपू ल्हामु खत्रीले १२ औं सागमा स्वर्णसहित २०७२ को अन्तर्राष्ट्रिय प्रतियोगितामा ५ पदक जितेकी छन् ।
दक्षिण एसियाली खेकलुदमा २१ बर्षपछि नेपाललाई जुडोमा स्वर्ण दिलाएकी उनी सागमा यो स्वर्ण भित्र्याउने पहिलो नेपाली महिला खेलाडी हुन् । राउन्ड रोबिनको आधारमा भएको ६३ केजीमुनिको स्पर्धामा उनले भारतकी सुनीबालादेवी हुइदरमलाई वोजारी तथा श्रीलंकाकी डीवाईएल विजेबद्र्धने, बंगलादेशकी डोउसुइजिङ चौधरी कान्त र पाकिस्तानकी अम्ब्रिन मसिहलाई नकआउटको आधारमा पराजित गर्दै स्वर्ण कब्जा गरेकी थिइन् ।
हंगेरी ओपन जुडो च्याम्पियनसिपमा पनि स्थानीय खेलाडीलाई हराएर उनले कांस्यपदक प्राप्त गरेकी थिइन् । २१ बर्षीय उनले जुनियरतर्फ बुडापेस्ट कपमा स्वर्ण, हङकङ ओपनमा रजत र मकाउ ओपनमा कांस्यपदक हात पारेकी थिइन् । उनले बुडापेस्टमा तीन, हङकङमा दुई तथा मकाउमा एक खेलाडीलाई पराजित गरेकी थिइन् । रियो ओलम्पिकको लागि पनि छनोट भएकी उनले वल्र्ड च्याम्पियनसिप र एसियन च्याम्पियनसिप खेलिसकेकी छन् ।
हङकङ ओपन जुनियर जुडो च्याम्पियनसिपमा रजत जित्ने क्रममा उनले हङकङ र चीनका खेलाडीलाई पराजित गरेपछि चाइनिज ताइपेईसंग हारको सामना गरेकी थिइन् । मकाउ ओपन जुनियर जुडो च्याम्पियनसिपमा कांस्य जित्ने क्रममा उनले चाइनिज ताइपेलाई पराजित गरेपछि चीनीया खेलाडीसग हारेकी थिइन् । हंगेरी ओपन जुडो च्याम्पियनसिपमा कांस्य जितेकी उनले अल ओपन जुनियर बुडापेस्ट कपमा तीन खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी बिश्व च्याम्पियनसिप र एसियन च्याम्पियनसिपमा पनि सहभागि
भइसकेकी छिन् ।