आकाश र तुलसी आईटीएफ वर्ष खेलाडी

ee
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्ना खेलाडी बाग्लुङका आकाशचन्द्र घर्ती मगर र नुवाकोटकी तुलसी थापा मगरलाई आईटीएफ वर्ष खेलाडी– २०७२ बाट शनिबार पुरस्कृत गरेको छ ।पुरुष वर्ष खेलाडीको अवार्ड थापेका आकाशले राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले भारतको गोवामा भएको दक्षिण एसियाली तेक्वान्दो (आईटीएफ) प्रतियोगितामा १ स्वर्ण, १ रजत र १ कांस्य जितेका थिए ।
त्यस्तै महिला वर्ष खेलाडी तुलसीले राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । तुलसीले गोवाको दक्षिण एसियाली तेक्वान्दोमा २ स्वर्ण हात पारेकी थिइन् ।त्यसै अवसरमा नुवाकोटका बासुदेव भट्ट वर्ष प्रशिक्षक– २०७२ को अवार्डबाट सम्मानित भए । काभ्रे उत्कृष्ट संघका रुपमा पुरस्कृत भयो । सम्मानित सबैले समान ६–६ हजार नगदसहित प्रशंसापत्र पाए ।
उनीहरुलाई नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले संघको तर्फबाट पुरस्कृत गरे । सो अवसरमा केसीलगायत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, राखेपका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन, सातौं राष्ट्रिय खेलकुद तयारी समिति सचिवालयका प्रमुख कमल खनालले खेलकुदको महत्व बारे चर्चा गरेका थिए ।
१९ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा महासंघले खेलाडी, प्रशिक्षक र संघलाई सम्मान गरेको हो । वार्षिकोत्सवकै उपलक्ष्यमा महासंघले विगतमा झै यस वर्षपनि साउन १९ मा रक्तदान, २० मा पशुपतिमा रहेका बृद्धबृद्धालाई खाना खुवाएको थियो भने २१ गते ब्ल्याकवेल्ट ग्रेडिङ परीक्षा लिएको थियो ।

Comment