संरक्षक र प्रणव सेमिफाइनलमा
शुभताराका संरक्षकभूषण वज्राचार्य र सेन्ट जेभियर्सका प्रणव खनाल नवौं एलए÷जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै युलेन्सका आर्यन गिरी र आयोजक लिटिल एन्जल्स (एलए) स्कुलका अभिनव आचार्य पनि सेमिफाइनलमा पुग्न सफल भए ।
हातीवनस्थित एलएको कोर्टमा भएको खेलमा संरक्षकले एलएका पीयूश सिंहलाई ६–० र ६–० तथा प्रणवले काष्ठमण्डपका सहर्ष चन्दलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे । आर्यनले रातो बंगलाका सौरभराज पाण्डेलाई ६–१ र ६–२ तथा अभिनव आचार्यले एलएकै आयुशमान नान्जुलाई ६–३ र ६–३ को सीधा सेटमा हराए ।यु–१२ ब्वाइज सिंगल्समा युलेन्सका सुदन गिरी, सेन्ट जेभियर्सका अदित सुवेदी र इभेक जोशी, नेपाल प्रहरी स्कुलका निश्चल अधिकारी, पेनउडका अकी जुवेन रावत, प्रहरीका सरोज लामा, सेन्ट जेभियर्सका आरभसम्राट हाडा तथा युरो किड्सका आदित्य सुवेदी क्वाटरफाइनलमा पुगे ।
सोही स्पर्धाको गल्र्समा विद्या संस्कारकी रायना शाह, शुभताराकी लुमु लामा, न्यु लिराकी मन्दिरा आले मगर, एलएकी सलोनी तामाङ, इलिम किड्स एकेडेमीकी शिरिस्था राई, सेन्ट जेभियर्सकी इशाश्री शाह, जोन डेवीकी आइशा डोल्कर गुरुङ र एलएकी शुभाङ्गीलक्ष्मी शाहले क्वाटरफाइनल यात्रा तय गरे ।
यु–१० गल्र्स सिंगल्समा एलएकी शुभाङ्गीलक्ष्मी शाह, द ब्रिटिस स्कुलकी निमिशा ढकाल, मल्पीकी समृद्धि श्रेष्ठ, सेन्ट मेरिजकी इभा अधिकारी, काष्ठमण्डपकी अजा रेग्मी, ब्रिटिसकी अभिशी शाह, प्रिमियरकी प्रशंसा मोक्तान तथा जोन डेवीकी आइशा डोल्कर गुरुङले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
उक्त स्पर्धाको ब्वाइजमा सेन्ट जेभियर्सका अराभसम्राट हाडा, एलएका सक्षम शाह, प्रहरीका सरोज लामा तथा काष्ठमण्डपका प्रणव मानन्धर क्वाटरफाइनलमा पुगे ।