पारस र सब्नमलाई बुद्धिचाल उपाधि

madan bhandari buddhichale
मदन भण्डारी कप विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि पारस लामा र सब्नम राजभण्डारीले शनिबार जितेका छन् । नौ चरणको खेलमा छात्रतर्फ सुप्रिमका पारसले ९ तथा छात्रामा स्वर्णिमकी सब्नमले ५.५ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेका हुन् ।मदन भण्डारी अध्ययन केन्द्र कामनपा १५ वडा कमिटीद्वारा आयोजित प्रतियोगिताको छात्रमा ७.५ अंकसाथ सुप्रिमकै निरज गनेजु दोश्रो तथा ७ अंकसाथ स्वर्णिमका स्वस्तिकचन्द्र श्रेष्ठ तेश्रो भए ।
डल्लु आवासस्थित सामुदायिक भवनमा भएको प्रतियोगिताको छात्रामा सुप्रिमकी अस्मिता पुलामी मगर दोश्रो र स्वर्णिमकी स्मृति पन्त तेश्रो भए । अस्मिता र स्मृतिले समान ५–५ अंक जोडेपनि कट प्रोग्रेसिभ अंक आधारमा अस्मिता अगाडि रहे।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार हात पारे । विजेतालाई नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आयोजक कमिटीका अध्यक्ष राजेश शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगितामा विभिन्न १६ विद्यालयका ९४ खेलाडी सहभागी थिए ।

Comment