भलिबल सदस्य भण्डारीको निधन

rama bhandari

भलिबका पुर्व खेलाडी एवं बाँके जिल्ला भलिबल संघका कार्यसमिति सदस्य रमा भण्डारीको सोमवार राति निधन भएको छ । भारतीय शहर लखनउस्थित सामरा अस्पतालमा उपचारका क्रममा सोमवार राति करिब १० बजे उनको निधन भएको हो । दिवंगत रमाको शव मंगलवार बिहानै कोहलपुर ल्याइएको थियो ।
निरन्तर ज्वरो आएपछि कोहलपुर शिक्षण अस्पताल भर्ना गरिएकी ३५ बर्षीया रमालाई एक साता अघि सामरा अस्पताल रिफर गरिएको जनाइएको छ । उनलाई मेनेन्जाइटिसको लक्षण देखिएको रमाकै उपचारका लागि लखनउ पुगेका कोहलपुरका पत्रकार श्रीधर पौडेलले जानकारी दिए । दिवंगत खेलाडी रमाको मंगलवार बिहान सिक्टा सिंचाइनजिक अगैयाघाटमा अन्तिम संस्कार गरियो । अन्तिम श्रद्धान्जलीका लागि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओली, उपाध्यक्ष नरेन्द्र थापा, बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरी, उपाध्यक्ष चिरनजीवी चन्द, उपाध्यक्ष गोविन्द पौडेल, भलिबलकै पुर्व खेलाडी दामोदर भण्डारी, आइस हक्की संघ बाँकेका उपाध्यक्ष खगेन्द्र शाही, नेपाल खेलकुद पत्रकार मञ्च बाँकेका अध्यक्ष जयनारायण शाह, नमस्ते यातायात समितिका अध्यक्ष निरज चलाउने, बागेश्वरी यातायात समितिका अध्यक्ष मनप्रसाद आचार्य, बिभिन्न शिक्षण संस्थाका प्रमुखहरु गरी सयौंको संख्यामा शुभेच्छुकहरु अगैया घाट पुगेका थिए । कोहलपुर न्युरोड निवासी रमाका श्रीमान दिलीप केसी मध्यपश्चिम केवलका संचालक हुन् । उनीहरुका एक छोरा छन् ।
यसैबीच नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले रमाको निधनमा गहिरो दुख व्यक्त गरेका छन् ।
पुर्व युवा तथा खेलकुद मन्त्री पुर्णबहादुर खड्काले पनि रमाको निधनमा गहिरो दुख व्यक्त गरेका छन् । त्यसैगरी बाँके जिल्ला भलिबल संघले रमाको निधनले बाँकेको मात्र नभई सिंगो नेपालको भलिबलमा अपुरणीय क्षति भएको जनाएको छ । नेपालको भलिबलमा स्तरका हिसाबले नम्बर एक प्रतियोगिताका रुपमा स्थापित प्रधानमन्त्री कप महिला भलिबल आयोजक समितिकी सक्रिय सदस्य रमाको निधनले भलिबलको अभियानलाई ठुलो क्षति पुर्याएको जिल्ला अध्यक्ष ठकुरीले बताए ।
रमाको निधनमा नेपाल ओलम्पिक कमिटीका उपमहासचिव राजिव श्रेष्ठ लगायत भलिबल तथा अन्य खेलका दर्जनौं राष्टिय तथा अन्तराष्टिय खेलाडी एवं प्रशिक्षकहरुले शोक व्यक्त गर्दै दिवंगत आत्माको शान्तिको कामना गरेका छन् ।

Comment