झम्क र दौलत चेस च्याम्पीयन

Manoj Shiama
2 September, 2016 10:08 am

राष्ट्रिय खेलकुद परिषदको ५३ औँ बार्षिक उत्सवको अवसरमा आयोजित प्रथम रामेछाप जिल्ला स्तरिय खेल्ला तथा अन्तर विद्यालय चेस प्रतियोगिताको खुल्ला तर्फ झम्क कडेल प्रथम भए। उनले स्वीस लिग ५ राउण्डको खेलमा सबै खेल जितेका थिए । उपाधि सँगै नगद सात हजार, ट्रफि र मेडल हात पारे । त्यस्तै चार अंक का साथ विजय कुमार श्रेष्ठ दोश्रो भए । उनले नगद ५ हजार रुपैया पाए । यसैगरी साढे ३ अंक प्राप्त गर्ने तीर्थराज प्रसाई तेस्रो भए । उनले ३ हजार रुपैया पाए । त्यस्तै रेनुका श्रेष्ठ उत्कृष्ठ महिला भई नगद रु २ हजार पुरस्कार जित्न सफल भईन् ।
रामेछाप जिल्ला खेलकुद विकास समिति द्धारा आयोजित दुइदिने प्रतियोगितामा विद्यालय तर्फ समान ५ अंक भएपनि ट्राईबेकरमा मन्थली उमाविका दौलत सिंह धामी प्रथम, संजय सुनुवार गोकुलगंगा माविका र तामाकोशीका अनिस बस्नेत तेश्रो भए । उनीहरुले ट्रफि, मेडलका साथै नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गरे । त्यस्तै मन्थली माविका एलिसा कार्कीले उत्कृष्ट छात्रा भै नगद २ हजार प्राप्त गरिन ।
प्रतियोगिताको विजयी तथा सहभागिहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुषोत्तम कडरियाको सभापतित्वमा आयोजित एक कार्यक्रम बीच प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी र नेपाल बुद्धिचाल संघका केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्र खाइजु लगायतले पुरस्कार वितरण गरे।साथै रामेछाप जिल्लाको प्रतिभावान खेलाडी तथा राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडीहरुलाई सम्मान समेत गरियो ।