सातौं तयारी सचिवालय बैठक
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको तयारी सचिवालयको बैठक बुधबार बस्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव केशवकुमार विष्टको उपस्थितिमा बसेको बैठकले एथलेटिक्सको पुरुष÷महिलामा समान ४–४ भन्दा कम खेलाडी कोटा पाएका जिल्लालाई ४–४ कोटा नै उपलब्ध गराउने निर्णय भएको सचिवालयका प्रशासकीय अधिकृत इन्द्र कार्कीले जनाएका छन् ।
रिले स्पर्धालाई ध्यानमा राख्दै उक्त कोटा उपलब्ध गराउन लागिएको हो । ४ भन्दा कम खेलाडी कोटा पाउने जिल्लाको संख्या १७ रहेको छ ।
थप खेलाडी कोटा माग गरेका जिल्लालाई आफ्नै खर्चमा खेलाडीलाई सहभागी गराउन सहमति दिने निर्णय गरेको छ । यदि जिल्लाकै खर्चमा सहभागी हुने खेलाडी शीर्ष तीन स्थान भित्र आए राखेपले नै उक्त खेलाडीको खर्च व्यहोर्ने छ । राखेपले उपलब्ध गराएको खेलाडी कोटामा नबढ्ने गरी खेलाडी समायोजन गर्न समेत जिल्लालाई सहमति दिने निर्णय गरेको छ ।