शिरिष गुरुङ्ग सम्मानित

Manoj Shiama
9 September, 2016 7:24 pm

sammanit-sirisheपौडीका खेलाडी शिरिष गुरुङ्ग नगद ८० हजार सहित शुक्रबार सम्मानित भएका छन् । नेपाल पौडी संघद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले गुरुङ्गलाई नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरे ।
हालै ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न ३१ औं रियो ओलम्पिकमा गुरुङ्गले १०० मिटर फ्रि स्टायलमा ५७.७६ सेकेन्ड समयका साथ नयाँ राष्ट्रिय रेकर्ड कायम गर्न सफल भएकोमा उनलाई नेपाल पौडी संघको पूर्व घोषित कार्यक्रम अनुसार नगद २५ हजार, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्माको तर्फबाट २५ हजार, नेपाल तेक्वान्दो संघको तर्फबाट १० हजार र भाटभटेनी सुपर मार्केटका तर्फबाट १० हजार गरि ७० हजार तथा मित्र राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा आयोजित १२ औं दक्षिण एशियाली खेलकुदमा २०० र ४०० मि. इन्डिभिजुएल मिड्ले, ४०० मि. फ्रिस्टायल तथा ४ गुणा १०० मि. फ्रिस्टायल, ४ गुणा १०० मि. मिड्ले र ४ गुणा २०० मि. फ्रिस्टायल रिलेका साथ ५ विधामा राष्ट्रिय किर्तिमान कायम गरेका कारण संघको तर्फबाट प्राप्त नगद १० हजार गरि कुल ८० हजार प्रदान गरिएको हो ।
यस्तै मित्र राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा सम्पन्न १२ औं दक्षिण एशियाली खेलकुदमा ७ विधामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल खेलाडी सोफिया शाह नगद १० हजार सहित प्रशंसा पत्रले सम्मानित भईन् । उनले ५०, १०० र २०० मि. फ्रिस्टायल, ४०० मि. व्यक्तिगत मिड्ले, ४ गुणा १०० मि. फ्रि, ४ गुणा १०० मि. मिड्ले र ४ गुणा २०० मि. फ्रिस्टायलमा राष्ट्रिय किर्तिमान कायम गरेकी थिईन् ।
यस्तै अन्य खेलाडीहरुमा श्रृतिका सिंह र सोनिरा विष्टले ४ गुणा १०० फ्रि, ४ गुणा १०० मि. मिड्ले र ४ गुणा २०० मि. फ्रिमा किर्तिमान कायम गरेका थिए । यसैगरि अनुभव सुब्बा, शुभम श्रेष्ठ र मनिष चित्रकारले ४ गुणा १०० मि. र ४ गुणा २०० मि. फ्रिस्टाय रिलेमा किर्तिमान कायम गरेका थिए । प्रत्येक खेलाडी नगद ३ हजार सहित प्रशंसा पत्रद्वारा सम्मानित भए ।