संरक्षक र मायांका च्याम्पियन
संरक्षक भूषण वज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा ३ घण्टा १५ मिनेट चलेको पुरुष सिंगल्स फाइनलमा संरक्षकले पूर्व नेपाल नम्बर वान कमल भण्डारीलाई ४–६, ७–५ र ६–४ को सेटमा पराजित गरे । सन्तोष खत्री र नवीन पुन तेश्रो भए ।ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा मायांकाले इरा रावतलाई ६–७, ६–२ र ६–३ को सेटमा हराइन् । उक्त फाइनल ३ घण्टा ५ मिनेट चलेको थियो । माहिका राणा र भगवती विक संयुक्त रुपमा तेश्रो भए ।
मायांकाले प्रतियोगितामा दोहोरो स्वर्ण जितिन् । मायांकाले जुम्ल्याहा बहिनी माहिकासंग मिलेर महिला डबल्स उपाधि पनि हात पारिन् । विभूति कार्की र विजिशा श्रेष्ठको जोडी तेश्रो भए ।त्यस्तै पुरुष डबल्समा श्रीराम मगर र कमल भण्डारीको जोडी पहिलो भए । संरक्षकभूषण वज्राचार्य र महेश श्रेष्ठको जोडी दोश्रो भए भने सन्तोष खत्री र आत्माराम कार्की तथा शक्ति शर्मा र अनिल शाहीको जोडी तेश्रो स्थानमा रहे ।
कूल नगद पुरस्कार राशी १ लाख ६० हजार रुपैयाँ रहेको प्रतियोगिताका प्रत्येक स्पर्धाका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुने खेलाडीले ५–५ हजारका दरले नगद पुरस्कार पाए ।विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेल, अखिल नेपाल लनटेनिस संघका सदस्य समेत रहेका आयोजक ललितपुर जिल्ला लनटेनिस संघका अध्यक्ष कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । पाँचदिने प्रतियोगितामा विभिन्न ४ स्पर्धामा ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
समानका अवसरमा विभिन्न विद्यालय र क्लब गरी १६ संस्थालाई जुनियर टेनिसको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) बाट प्राप्त ¥याकेट र बल हस्तान्तरण गरिएको थियो । लनटेनिस संघका केन्द्रीय महासचिव मनोहरदास मुलले सामाग्री हस्तान्तरण गरे ।