लेसु खोलालाई भुजी लिग उपाधि
रामेछाप भुजीको लेसु खोला लघु जलविद्युत् आयोजनाले जिल्लाकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता भुजी लिग रनिङ सिल्डको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा काठमाडौंको बेथलेहेम युथ क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै लेसु खोलाले उपाधि पक्का बनाएको हो ।
भुजी खेलमैदानमा भएको खेलमा दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै लेसु खोलाले उपाधि पक्का बनाएको हो । उसको जितमा सुरेश खत्रीले दुई तथा अमित लामाले एक गोल गरे । बेथलेहेमले खेल सुरु भएको तेस्रो मिनेटमै १–० को अग्रता बनाएको थियो । सुनिल लामाले गोल गर्दै टोलीलाई १–० ले अघि बढाएका थिए । त्यसपछि खेलको ११ औं मिनेटमै सुवास सुनुवारले बेथलेहेमलाई २–० ले अघि राखे ।
त्यसपछि समालिएको लेसु खोला खेलमा फर्कंदै उपाधि नै चुम्न सफल भयो । लेसु खोलाले २५ औं मिनेटमा पहिलो गोल फर्काएको थियो । अमित लामाले टोलीलाई १–२ को अवस्थामा पु¥याए । खेलको दोस्रो हाफमा सुरेश खत्रीले लगातार दुई गोल गरेपछि लेसु खोला विजयी बन्यो । खेलको ४६ औं मिनेटमा पहिलो गोल गर्दै खेललाई २–२ को बराबरीमा फर्काएका सुरेशले ८६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लेसु खोलालाई भुजी लिगको नयाँ विजेता बनाए ।
उपाधिसहित लेसु खोलाले ५१ हजार पाँच सय रुपैयाँ प्राप्त ग¥यो भने बेथलेहेमले २५ हजार भेट्यो । शुक्रबार नै भएको खेलमा प्रीतिको मिलनचोक युथ क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै तेस्रो स्थान हातपारेको ओखलढुंगा खिँजीको पवित्र युथ क्लबले १३ हजार पाँच सय रुपैयाँ प्राप्त ग¥यो । निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णाय लिइएको थियो । प्रतियोगितामा विभिन्न २४ टोली सहभागी थिए ।