अन्तर्राष्ट्रिय पदक विजेतालाई प्रोत्साहन भत्ता

Manoj Shiama
28 November, 2016 7:11 pm

bhattae
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार दक्षिण एसियाली खेलकुदमा स्वर्ण तथा एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई प्रोत्साहन भत्ता स्वरुप मासिक पाँच हजार रुपियाँ प्रदान गरेको छ । सागका ८५ स्वर्ण विजेता र एसियालीका ५ पदक विजेतालाई चार महिनाको एक मुष्ट २१ लाख ८० हजार वितरण गरियो । हाल स्वदेशमा रहेका खेलाडीलाई मात्र उक्त भत्ता प्रदान गरिएको हो ।
राखेपले मृत्यु भइसकेका बक्सरद्वय दलबहादुर राना मगर, पुष्करध्वज शाही र पौडी खेलाडी चित्रबहाुदर गुरुङको हकमा भने मासिक पाँच हजार रुपियाँको दरले २० महिनाको एकमुष्ठ रकम परिवारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी, सागमा एकभन्दा बढी स्वर्ण वा एसियालीमा एकभन्दा बढी पदक जित्ने सात खेलाडीलाई मासिक प्रति पदक पाँच हजार रुपियाँ प्रदान गरेको छ । यस्तो उपलब्धी हासिल गर्नेमा धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, तेक्वान्दोका दीपक विष्ट, करातेका दीपक श्रेष्ठ, तेक्वान्दोकी संगिना वैद्य, बक्सिङका चित्रबहादुर गुरुङ र तेक्वान्दोकी आयशा शाक्य छन् । त्यस अनुसार दीपक विष्टले सबैभन्दा बढी सागको ४ स्वर्णका लागि २० हजार र एसियालीको २ कांस्यका लागि १० हजार रुपैयाँ गरी जम्मा ३० हजार रुपैयाँ प्राप्त गरे ।
युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र खेलकुद मन्त्रालयका सचिव महेशकुमार दाहालले पदक विजेतालाई पुरस्कृत गरे । चालू आर्थिक वर्षको साउन देखि कात्तिक महिनाको भत्ता खेलाडीलाई प्रदान गरिएको हो ।