विमललाल चौथो

body-building-saturdaye
नेपालका विमललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको पुरुष फिट्नेस फिजिक १७० सेन्टीमिटरसम्म उचाईमा शनिबार चौथो भएका छन् । विमलको स्पर्धामा विभिन्न ६ राष्ट्रका ७ खेलाडी प्रिजजिङमा सहभागी थिए । प्रिजजिङमा भारतका मंगेश गाउडी र चाइना मकाउका इयोङ वेङकुनलाई पछि पारी विमल शीर्ष ५ पाँच स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएका थिए । विमलको स्पर्धामा सुरुमा बाँडिएको खेलाडी सूचीमा ९ खेलाडीले भाग लिने उल्लेख थियो । पछि कार्यक्रम उद्घोषकले दुई खेलाडीको नाम निर्णायक मण्डललाई हटाउन सूचित गरेपछि सात खेलाडीको अन्तिम सूची तयार गरिएको थियो । हटाइएका दुवै खेलाडी इजिप्टका थिए ।
फाइनल चरणमा विमल पाँचौं स्थानमा प्रदर्शन गर्न आएका थिए । पदकबाट थोरै चुकेका विमलले फाइनलमा दक्षिण कोरियाका किम मिन वुलाई मात्र पछि पार्न सके । थाइल्यान्डकाद्वय वान्चाई कान्जानापिमिन र रत्चावत कापन्या क्रमशः पहिलो र दोश्रो भए भने इरानका शरोक कजेमी तेश्रो भए । दक्षिण एसियाली, एसियाली तथा विश्व शारीरिक सुगठन च्याम्पियनसिपको अनुभव बटुलिसकेका विमलले भारतको मुम्बईमा भएको छैटौं विश्व च्याम्पियनसिपको स्पोर्ट्स फिजिकमा रजत जितेका थिए । विमलले दुई दक्षिण एसियाली, एक एसियाली तथा तीन विश्व च्याम्पियनसिप (अहिलेको समेत) मा भाग लिइसकेका छन् ।
यसपटक दुई स्पर्धामा सहभागिता जनाएका विमलले शुक्रबार स्पोर्ट्स फिजिकमा भाग लिएका थिए । त्यसमा उनी प्रिजजिङ राउन्डबाटै बाहिरिए । शनिबारै नेपालका विनोद वज्राचार्यले स्पोर्ट्स फिजिकको १७५ सेन्टीमिटर उचाईमा भाग लिदै अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गरे । विनोद पनि प्रिजजिङ राउन्डमै सीमित भए । विनोदको स्पर्धामा विभिन्न ८ राष्ट्रका १५ खेलाडी सहभागी थिए । यससंगै प्रतियोगितामा नेपाली पुरुष खेलाडीको चुनौती समाप्त भएको छ ।
यसअघि शुक्रबार नेपालका अनिललाल श्रेष्ठले शारीरिक सुगठनको ६५ केजी र मास्टर्स ४० वर्षमाथि खेलेका थिए । अनिल दुवै स्पर्धामा प्रिजजिङ राउन्डबाट अगाडि बढ्न सकेनन् । अनिल समग्रमा छैटौं स्थानमा रहे ।
अब प्रतियोगिताको अन्तिम दिन आइतबार नेपालकी ननिता महर्जनले महिला एथलेटिक फिजिकको १६० सेन्टीमिटर उचाईमा खेल्नेछिन् । त्यो खेलनै नेपाली खेलाडीको अन्तिम खेल हुनेछ । चालू प्रतियोगितामा एक महिलासहित चार नेपाली खेलाडीले विभिन्न ६ स्पर्धामा भाग लिएका छन् । विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक संघको आयोजनामा थाइल्यान्डको पटायास्थित एम्बासडर सिटी होटलको कन्भेन्सन हलमा जारी प्रतियोगिताको औपचारिक उद्घाटन भने शनिबार मात्र गरियो । थाइल्यान्ड खेलकुद प्राधिकरणका डेपुटी गोभर्नर नत्तावुट रुइङगेभ्सले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
सो अवसरमा थाइल्यान्डका स्व. राजा भूमिवोल अदुल्याडेजको सम्झनामा मौन धारण गरिएको थियो । छोटो उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी ४९ राष्ट्रका राष्ट्रिय झण्डा अंकित प्लेकार्ड लिएर थाइ सैनिकले मार्च पास्ट गरेका थिए । साथै प्रमुख अतिथि डेपुटी गभर्नर र आईडब्लुबीपीएफका महासचिव दातुक पाउल चोले छोटो मन्तब्य राखेका थिए ।

Comment