बास्केटबल क्लिनिक सम्पन्न
नेपाल बास्केटबल संघको आयोजनामा प्रथम एफएडिएफ लेभल– २ कोचिङ क्लिनिक सम्पन्न भएको छ । नेपालमा पहिलो पटक भएको यो क्लिनिकमा मुख्य प्रशिक्षक दिनेशचन्द्र नकर्मीसहित ३० जना सहभागी थिए । साताव्यापी क्लिनिक फिबा इन्ट्रक्टर सिंगापुरका को कुन तेकले सञ्चालन गरेका थिए । विशेष गरी १४ देखि १७ वर्षसम्मका खेलाडीलाई कसरी प्रशिक्षण दिने विषयमा क्लिनिक केन्द्रीत थियो । नतिजा आउन करिब १ महिना लाग्ने बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी गराए ।
सहभागीलाई नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच सहभागिताको प्रमाण पत्र वितरण गरे । कोलाई संघका अध्यक्ष लामा टेन्डी शेर्पा र सहभागीले मायाको चिनो प्रदान गरेका थिए ।
सो अवसरमा अध्यक्ष शेर्पाले क्लिनिकले नेपाली बास्केटबलको स्तरबृद्धि गर्न ठूलो टेवा पुग्ने बताउदै कोलाई नेपाल आएर क्लिनिक सञ्चालन गरेकोमा धन्यवाद दिए । कोले सहभागीलाई क्लिनिकबाट आर्जन गरेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे ।
सोही अवसरमा कोलाई नेपाल बास्केटबल संघको केन्द्रीय कार्यसमितिको सल्लाहकारमा चयन गरिएको घोषणा गरिएको थियो ।