रत्न र विष्णुको विजयी सुरुआत

Manoj Shiama
14 December, 2016 9:30 am


नेपालका रत्नजित तामाङ र विष्णु कट्वालले नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको पुरुष सिंगल्समा मंगलबार विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रत्नजितले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टीलाई २१–१६ र २५–२३ तथा विष्णुले बंगलादेशका मोआजम होसैनलाई २१–१९ र २१–१५ को सोझो सेटमा पराजित गरे । जितसंगै दुवै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपालकै दीपेश धामीले इन्डोनेसियाका इमाम अदि कुसुमा अत्मजाबाट वाक ओभर पाउदै अन्तिम १६ मा स्थान बनाउन सफल रहे ।
पुरुष सिंगल्सकै अन्य खेलमा बंगलादेशका तुसारकृष्ण रोयले नेपालका इर्फान अन्सारीलाई २१–१२ र २१–८, भियतनामका दुक फाट लिले नेपालका सुमन लिम्बूलाई २१–२ र २१–११, भारतका अमन कुमारले नेपालका दीपक बोहरालाई २३–२१ र २१–१०, भारतका सिद्धार्थ ठाकुरले नेपालका विजित थापा मगरलाई २१–१० र २२–२०, भियतनामका क्वेङ हु दाङले बंगलादेशका मोहम्मद अनामुल हकलाई १६–२१, २१–१४ र २१–१५, इरानका अमिर जब्बारीले नेपालका जोसेफ अधिकारीलाई २१–६ र २१–१०, भियतनामका काउ कुङ फामले नेपालका साजनकृष्ण ताम्राकारलाई ११–४ (रिटायर्ड), बंगलादेशका मोहम्मद सल्मान खानले नेपालका भूगोल गुरुङलाई २१–१० र २१–५, भारतका अरुणकुमार अशोक कुमारले माल्दिभ्सका हुसैन जयन साहिदलाई २१–१२ र २१–१४, भियतनाम दक गियङ गुयेनले नेपालका सुदीप सेढाईंलाई १९–२१, २१–१८ र २१–९ तथा भारतका अभिषेक येलेगरले नेपालका सन्जिव खड्कालाई २१–१७ र २१–१५ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
महिला सिंगल्समा बंगलादेशकी एलिना सुल्तानाले नेपालकी सुनैना मुखियालाई २६–२४ र २१–९, पाकिस्तानकी पल्वासा बसिरले नेपालकी शोभा गौचनलाई २१–५ र २१–८, इन्डोनेसियाकी देवी युनिता इन्डाह सरीले नेपालकी अनुमाया राईलाई २१–६ र २१–१५ तथा माल्दिभ्सकी माइसा फथुहुल्ला इस्माइलले नेपालकी जेसिका गुरुङलाई २१–१५ र २१–१८ ले हराए । महिला विजेता पनि अन्तिम सोह्रमा प्रवेश गरे ।
मिक्स डबल्समा भारतका आर नभनीथा कृष्णन र बी. बाइलुपुदीको जोडीले नेपालका दीपेश धामी र पूजा श्रेष्ठको जोडीलाई २१–१८, २०–२२ र २१–८ तथा भारतका सौरभ शर्मा र अनौषका पारेखको जोडीले पाकिस्तानका मुहम्मद इर्फान सइद भट्टी र साइमा मन्जुरको जोडीलाई १७–२१, २१–१३ र २१–१६ को सेटमा पाखा लगाउदै क्वाटरफाइनलमा पुगे ।
प्रतियोगिताको आपूर्ति मन्त्री दीपक बोहरा, युवा तथा खेलकुद पूर्व मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे ।
प्रतियोगितामा नेपालका २१, भारतका २३, भियतनामका ७, बंगलादेशका ९, इरान, इन्डोनेसिया र मलेसियाका ३–३, माल्दिभ्सका ४ र पाकिस्तानका ६ खेलाडी सहभागी छन् । नेपाल ब्याडमिन्टन संघद्वारा आयोजित प्रतियोगिताको कूल पुरस्कार राशी ६ हजार अमेरिकी डलर रहेको छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।