नेपालको चुनौती समाप्त

Manoj Shiama
15 December, 2016 8:30 pm


नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । बिहीबार विभिन्न स्पर्धामा नेपाली खेलाडीको पराजयसंगै नेपालको चुनौती औपचारिक रुपमा समाप्त भएको हो । विभिन्न ९ राष्ट्रका खेलाडी सहभागी प्रतियोगितामा नेपालका २१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष÷महिला सिंगल्स र डबल्स तथा मिक्समा गरी प्रतियोगितामा ५ स्पर्धा समावेश छ । पाँचै स्पर्धामा नेपालको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष सिंगल्समा भारतका सिद्धार्थ ठाकुरले नेपालका रत्नजित तामाङलाई २१–१८ र २१–१७, भियतनामका काउ कुङ फामले बंगलादेशका मोहम्मद सल्मान खानलाई २१–८ र २१–५, भारतका अभिषेक येलेगरले पाकिस्तानका रिज्वान अजामलाई २१–११ र २१–१४ तथा भियतनामका दुक फाट लिले बंगलादेशका तुशारकृष्ण रोयलाई २१–१० र २१–११ ले पराजित गर्दै सेमिफाइनलमा पुगे ।
महिला सिंगल्समा भियतनामकी थुई लिन नुयेनले नेपालकी शिक्षा श्रेष्ठलाई २१–६ र २१–१२, भियतनामकी थि फुङ थुई त्राणले नेपालकी मेघा चन्दलाई २१–८ र २१–७, इरानकी अघई हाजियाघा सोरायाले पाकिस्तानकी पल्वशा बसिरलाई २१–१२ र २१–१३ तथा इन्डोनेसियाकी देवी युनिता इन्दाह सरीले पाकिस्तानकी महुर साहजादलाई २१–१४ र २१–१५ को सीधा सेटमा हराउदै सेमिफाइनलमा स्थान बनाए ।
पुरुष डबल्समा भारतका एम. अनिलकुमार राजु र भेन्कत गौरभ प्रसादको जोडीले माल्दिभ्सका हुसैन जयन साहिद र नसुउ सराफुद्धिनको जोडीलाई २१–१२ र २१–८, भारतका अर्जुन एमआर र रामचन्द्रन स्लोकको जोडीले भियतनामका क्वेङ हुइ दाङ र दुक जियङ गुयेनको जोडीलाई २१–११ र २१–७, पाकिस्तानका रिज्वान अजाम र सुलेहरी कासिफ अलीको जोडीले नेपालका दीपेश धामी र रत्नजित तामाङको जोडीलाई २१–१६ र २१–१८ तथा भारतका अरुण जर्ज र सौरभ शर्माको जोडीले बंगलादेशका मोहम्मद सल्मान खान र तुशारकृष्ण रोयको जोडीलाई २१–१६ र २१–१३ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा पुगे ।
मिक्स डबल्समा बंगलादेशका मोहम्मद अनामुल हक र अक्तर साप्लाको जोडीले भारतका आर. नभनीथा कृष्णन र बी. बालुपुदीको जोडीलाई २१–१५, १३–२१ र २१–१९, भारतका सौरभ शर्मा र अनौष्का पारेखको जोडीले रत्नजित तामाङ र नङशल तामाङको जोडीलाई २१–१३, १९–२१ र २१–१०, बंगलादेशका मोहम्मद सल्मान खान र एलिना सुल्तानाको जोडीले नेपालका विष्णु कट्वाल र अमिता गिरीको जोडीलाई २१–१२ र २१–१४ तगा भारतका भेन्कत गौरव प्रसाद र जुही देवागनको जोडीले नेपालका विजित थापा मगर र शिक्षा श्रेष्ठको जोडीलाई २१–८ र २१–११ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे ।
महिला डबल्समा भारतकी जक्कम्पुडी मेघना र पुर्भिसा एस. रामको जोडीले नेपालकी पूजा श्रेष्ठ र नङशल तामाङको जोडीलाई २१–७ र २१–५, भारतका अनौष्का पारेख र हारिका भेलुदर्थीको जोडीले पाकिस्ताका पल्वशा बसिर र साइमा मन्जुरको जोडीलाई २१–१३, १८–२१ र २१–१३ तथा बंगलादेशका अक्तर साप्ला र एलिना सुल्तानको जोडीले नेपालका शोभा गौचन र अनुमाया राईको जोडीलाई २१–७ र २१–१३ को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।