यङ स्टार क्रिकेट टोली सम्मानित
क्रिकेट लभर्स अफ दाङले थाइल्यान्डमा भएको मैत्रीपूर्ण क्रिकेटमा भाग लिएको दाङको यङ स्टार युवा क्लबको क्रिकेट टोलीलाई सम्मान गरेको छ । थाइल्यान्डको बैंककमा डिसेम्बर १० देखि १२ तारिखमा भएको मैत्रीपूर्ण प्रतियोगितामा क्लबले क्रिकेट एसोसिएसन अफ थाइल्यान्डको टोलीसंग ५० ओभरको १ खेल र २० ओभरको २ खेल खेलेको थियो ।५० ओभरको खेलमा क्लब ७ विकेटले पराजित भएको थियो । २० ओभरको दुवै खेलमा भने क्लब विजयी रह्यो । पहिलो र दोश्रो २० ओभरको खेलमा क्लब क्रमशः ९१ रन र १०१ रनले विजयी भयो । ५० ओभरमा शून्यमा आउट भएका सोनु तामाङले बाँकीका खेलमा क्रमशः नटआउट ९७ र १२८ रन बनाएका थिए । खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक, फिजियो र अफिसियल गरी २० सदस्यीय टोली बैंकक गएको थियो । खेलाडीहरुमा रुपेश शर्मा (कप्तान), दीपेश शाक्य, सोनु तामाङ, प्रशन्न शाक्य, सुदीप नेपाली, आकाश सिंह, आशिष सिंह, दिवान पुन, केशबप्रसाद शर्मा, प्रवीण अधिकारी, ऋषिराज लहरे, सफल पुरी र वीरसिंह ओली रहेका छन् । प्रशिक्षकमा विनिल केसी, व्यवस्थापकमा सीताराम शर्मा तथा फिजियोमा डा. सुबोध शर्मा छन् ।
टोलीलाई १० हजार नगदसहित सम्मान गरियो । काठमाडौं जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष केशरबहादुर श्रेष्ठ, क्रिकेट लभर्स अफ दाङका अध्यक्ष अनिल बस्नेतलगायतले सम्मान गरे ।