एपीएफको विजयी सुरुआत


सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत महिला फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले शनिबार विजयी सुरुआत गरेको छ ।
सुनसरीको दुहबी रंगशालामा भएको समूह ‘क’ को लिग खेलमा एपीएफले पश्चिमाञ्चललाई ३–० गोलअन्तरले पराजित ग¥यो । निर्धारित ७० मिनेट खेलको पहिलो हाफमा २ तथा दोश्रो हाफमा १ गोल सम्भव भएको थियो ।
कप्तान लक्ष्मी पौडेलले खेलको १२ औं मिनेटमा गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाइन् । लक्ष्मीले नै २२ औं मिनेटमा गोल गर्दै एपीएफको अग्रतालाई दोब्बर बनाइन् । अनिता केसीले ५५ औं मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि तेश्रो गोल गरिन् ।
समूह ‘ख’ को लिगमा पूर्वाञ्चल र मध्यमाञ्चलबीचको खेल गोलरहित बराबरीमा टुंगियो । आइतबार सुदूरपश्चिमाञ्चल र नेपाल प्रहरी क्लब तथा मध्यपश्चिमाञ्चल र नेपाली सेनाबीच खेल हुनेछ ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीसहित ८ टिम सहभागी छन् । सहभागीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । फाइनल पुस ९ गते हुनेछ ।
समूह ‘क’ मा पश्चिमाञ्चल र एपीएफसहित सुदूरपश्चिमाञ्चल र प्रहरी छन् । त्यस्तै समूह ‘ख’ मा पूर्वाञ्चल र मध्यमाञ्चल बाहेक मध्यपश्चिमाञ्चल र सेना रहेका छन् ।

Comment