एपिएफलाई बेसबल उपाधी

Manoj Shiama
19 December, 2016 10:22 am


प्रथम राष्ट्रिय बेसबल च्याम्पियनसिपको उपाधी सशस्त्र प्रहरी बलको एपिएफ टिमले जितेको छ । नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा भएको प्रतियोगिताको आइतबार जावलाखेलस्थित सेनाको प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा एपिएफले सेनाको टिमलाई १४–४ रनले पराजीत गर्दै पहिलो उपाधी जितेको हो । आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा पोखराको बेसबस टिमले गोर्खाक्रुजलाई १२–१० रनले हरायो । प्रतियोगिताको सर्वउत्कृष्ट खेलाडीको उपाधी एपिएफका मिलन थापाले जिते । बेष्ट पिचरतर्फ आर्मीका मनकुमार माल चुनिए । वेष्ट क्याचरमा भक्तपुर सगुन खिचाजु चुनिए ।
प्रतियोगितामा नेपाल आर्मी, एपिएफ,गोर्खा क्रुज, भक्तपुर र पोखराको टिमको सहभागिता रहेको बेसबल तथा सफ्टबल संघका महासचिव दीपक न्यौपानेले बताए ।विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले पुरस्कार वितरण गरेका थिए । लामाले समारोहलाइ सम्बोधन गर्दै नेपालमा बेसबलको राम्रो सम्भावना रहेको बताए । ‘सन् २०२० मा जापानमा हुने ओलम्पिकमा पनि बेसबस परेको छ । यसका लागि नेपाली टिमलाई तयारी गर्नका लागि ओलम्पिक र राखेपले सहयोग गर्ने छ । तपाइहरु योजना लिएर आउनुस्,’ उनले भने, ‘जितेपछि पुरस्कार दिने तर खेल विकासका लागि नीति तयार नगर्ने परिपार्टीको अन्त्य गर्न हामी लागि परेका छौं्र । योजना बनाएर अगाडी बढ्न संघलाई आग्रह गर्छु ।’
संघका महासचिव न्यौपानेले आगामी ओलम्पिकमा हुने विभिन्न प्लेअफ खेलहरुमा उत्कृष्ट पदर्शन गर्ने गरि टिम तयारी भइरहेको बताए ।
लालिगुरास जापानले प्रतियोगिताका लागि विशेष सहयोग गरेको थियो । सो कार्यक्रममा लालिगुरासका अध्यक्ष युएहे कावाएछी र महासचिव सुजुकीको समेत उपस्थिति रहेको थियो । उपाध्यक्ष प्रदिप खत्रीको संयोजकत्वमा रहेको प्रतियोगिताको सामापन समारोहमा संघका उपाध्यक्ष विमल भट्टराई, सचिव विपिन बज्राचार्य र कोषाध्यक्ष पदम पौडेलको उपस्थिति थियो ।