विभागीय टोलीको निरन्तर जित
सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत महिला फुटबलमा नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लबले सोमबार जितलाई निरन्तरता दिएका छन् । सुनसरीको दुहबी रंगशालामा भएको खेलमा प्रहरीले पश्चिमाञ्चल माथी ४–० को जित निकाल्यो । विजयी टिमका लागि प्रनियोगिताकी वुमेन अफ दि म्याच यशोदा लामाले खेलको १९ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाईन् । २९ औं मिनटमा निरु थापाले गोल गर्दै गोल संख्यालाई दोब्बर पारिन् । यस्तै टोलीलाई मजबुत पार्ने क्रममा श्रृजना खड्काले खेलको ४६ औं मिनटमा थप गोल थपिन् भने ५७ औं मिनटमा मञ्जु गुरुङ्गले गोल गर्दै टोलीको जित सुनिश्चित पारिन् ।
अर्को खेलमा आर्मीले पूर्वाञ्चललाई ३–० ले हरायो । आर्मीका लागि सुष्मिता तामाङ्गले १५ औं मिनटमा गोल गरिन् । खेलको ५४ औं र ७० औं मिनटमा ईन्दिरा राईले गोल गदैं आर्मीको जित पक्का गरिन् । आर्मीकी ईन्दिरा राई ‘वुमन अफ द म्याच’ चुनिइन् । दुवै टोलीको यो लगातार दोश्रो जित हो ।