नवयुगको गोलमा आर्मीको जित
सातौ राष्ट्रिय खेलकुद अन्तरगत पुरुष फुटबलमा आइतबार नेपाल आर्मीले जित हात पर्दा एपिएफ र सुदुरपश्चिमाञ्चलले गोलरहित बराबरी खेलेका छन् । एन्फा टेक्निकल सेन्टर, धरानमा भएको समूह ‘ख’ पहिलो खेलमा एपिएफ र सुदूरपश्चिमाञ्चले कुनै पनि गोल गर्न सकेन भने अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित ग¥यो । बराबरी पछि एपिएफ र सुदूरपश्चिमाञ्चलले एक–एक अंक बाँडे भने आर्मीले महत्वपूर्ण ३ अंक जोड्यो । आर्मीको जितमा नवयुग श्रेष्ठ नायक बने । उनले पहिलो हाफको ६ मिनेटमा गोल गरेका थिए । मध्यपश्चिमाञ्चलका खेलाडीले प्रहार गरेको बल नियन्त्रणमा लिएर करिब २० यार्डबाट नवयुगले गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।
दोस्रो हाफको १९ औं मिनेटमा कृष्ण रानाभाटले रातो कार्ड पाएर मैदान छाड्नु परेपछि मध्यपश्चिमाञ्चल १० खेलाडीमा सीमित भएको थियो । आइतबारको नजिता पछि दुवै खेलमा जित पाएको आर्मी ६ अंकको साथ समूहको शीर्ष स्थानमा छ । एक खेलमा जित र एकमा बराबरी नतिजा निकालेको एपिएफले ४ अंक जोडेको छ भने एक खेलमा हार र एकमा बराबरी नतिजा निकालेको सुदूरपश्चिमाञ्चलको मात्र एक अंक छ । दुवै खेल हारेको मध्यपश्चिमाञ्चल अंकविहीन छ । सोमबार समूह क अन्र्तगत लिग चरणको अन्तिम खेल हुनेछ । पहिलो खेल नेपाल पुलिस क्लब र मध्यामाञ्चलबीच हुनेछ भने दोस्रो खेल पश्चिमाञ्चल र पुर्वाञ्चलबीच हुनेछ ।