पुलिस र मध्यमाञ्चल सेमीफाइनलमा
सातौ राष्ट्रिय खेलकुद अन्तरगत पुरुष फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चलले सेमीफाइनल यात्रा तय गरेका छन् । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा समुह ‘ख’बाट पुलिस समुह विजेता र मध्यमाञ्चल उपविजेता बन्दै सेमीफाइनल पुगेको हो । सोमबारको पहिलो खेलमा पुलिसले मध्यमाञ्चललाई ३–१ गोलअन्तरले हराए पछि दुवैको समान ६ अंक भए पनि हेड टु हेडको आधारमा दुवै टोली सेमीफाइनल पुगेको हो । लिग चरणको ३ खेलमध्ये दुवै टोली २ खेलमा जित र एक खेल हार व्यहोरेको थियो । सोमबार मध्यमाञ्चललाई हराएर पुलिसले ६ अंक बटुले पनि सेमीफाइनल पुग्न पुर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्रबीच सोमबार भएको दोस्रो खेलको नजितासम्म पर्खनु परेको थियो । दोस्रो खेलमा पुर्वाञ्चल क्षेत्रले पश्चिमाञ्चललाई ३–१ ले हराए पछि मात्र पुलिस हेड टु हेडको आधारमा समुह विजेता हुदै सेमीफाइनल पुग्न सफल भयो ।
पहिलो खेलमा पुलिसका कप्तान जुमानु राईले पहिलो हाफको २१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पुलिसका रवि पासवानलाई डिबक्सभित्र लडाएपछि पुलिसले पेनाल्टी मौका पाउदा जुमानुले गोल गरे । यस्तै, दोस्रो हाफको २९ औं मिनेटमा मध्यमाञ्चलका सञ्जीव कार्कीले आत्मघाती गोल गरे भने दोस्रो हाफको ४३ आंै मिनेटमा राम वाग्लेले तेस्रो गोल गर्दै पुलिसको जित सुनिश्चित गरे । मध्यमाञ्चलको लागि दोस्रो हाफको २३ औं मिनेटमा दिनेश हेन्जनले एक मात्र गोल गरे ।
दोस्रो खेलमा पुर्वाञ्चलले पश्चिमाञ्चल क्षेत्रलाई ३–१ ले हरायो । पुर्वाञ्चलको लागि निसान लिम्बुले २ र सुशिल कुमार यादवले एक गोल गरेका थिए । पहिलो हाफको ५ मिनेटमा निसानले पुर्वको लागि पहिलो गोल गरे भने २६ औं मिनेटमा सुसिलले दोस्रो गोल गरेका थिए । पहिलो हाफको ४१ औं मिनेटमा निसानले तेस्रो गोल गरे । पश्चिमाञ्चलका कप्तान अनिल गुरुङले पहिलो हाफको २० मिनेट एक मात्र सान्त्वना गोल गरे । लिग चरणको ३ खेलमध्ये एकमा मात्र जित पाएको पुर्वाञ्चल र पश्चिमाञ्चल प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा मंगलबार सशस्त्र प्रहरीको एपिएफ र नेपाल आर्मीबीच पहिलो खेल हुदैछ भने दोस्रो खेल सुदुरपश्चिमाञ्चल क्षेत्र र मध्यपश्चिम क्षेत्रबीच हुनेछ ।